December 3, 2022, Saturday
२०७९ मंसिर १७

‘गाउँ आएको बाटो’ : एक बहस

‘गुडबाई काठमाडौं’ बनाएपछिको समय मेरो दिमागमा एउटा नयाँ कथा मन्थन भइरहेको थियो । खासमा म ‘एक्सन फिल्म’ बनाउनेबारे सोचिरहेको थिएँ । एक्सन कस्तो त ? त्यो हामीले अहिलेसम्म सिनेमामा प्रयोग गर्दै आएको भन्दा भिन्न ।

लड्ने, भिड्ने शैली अरुभन्दा हाम्रो फरक छ । यो बलिउड वा हलिउडले देखाउने तिलस्मी फाइट जस्तो छैन । हामीकहाँ हुने जुन किसिमको द्वन्द्व छ, त्यो पारम्पारिक हो वा होइन ? त्यसको आफ्नै आर्ट फर्म छ वा छैन ? यसबारे म अध्ययन गरिरहेको थिएँ ।

यसैबीच टेलिशृंखला ‘सिहंदरबार’को निर्देशन गर्न थालें । ‘सिंहदरबार’ सकेपछि भने म एक किमिमको शून्य अवस्थामा थिएँ । अलमल जस्तै थियो भनौं ।

त्यही बेला आमोद जी (निर्माता आमोद राई) हङकङबाट फोन गर्नुभयो, ‘हे, काठमाडौंमा किन तनाव लिएर बसिराख्ने ? यता आउनुहोस् ।’ हङकङमा अनायस एउटा प्रोजेक्टको योजना बन्यो । त्यसै अनुरुप हामीले ‘गाउँ आएको बाटो’ बनाउने निधों गर्यौं ।

एक ठाउँमा यस्तो दुर्लभ रुख रहेछ, त्यसमा एक सय पच्चीस वटा पात छ भनिन्छ । अहिले त्यस रुखमाथि सडक बनेको छ । अब रुख मासिन्छ वा जोगिन्छ, यसै भन्न सकिदैन

यो एउटा सडकको कथा

आठ–दश वर्षअघि हुनुपर्छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले स्क्रिप्ट राइटिङ कार्यशाला गरेको थियो । त्यसबेला चार÷पाँच वटा एकदमै राम्रो कथा आएको थियो । त्यसैमध्येको एउटा हो, गाउँ आएको बाटो ।

यस चलचित्र एक बाबु–छोराको सम्बन्धको कथा हो, जो राई समुदायका छन् । गाउँमा सडक आउनुअघि र आएपछि उनीहरुको सम्बन्धमा कसरी उतार–चढाव आउँछ ? भन्ने कुरा यसमा जोड्न खोजेको छु ।

हुन त यसअघि मैलें ‘गुडबाई काठमाडौं’ र ‘नुमाफुङ’ बनाएँ । तर, हरेक काम गर्दा मलाई सून्यबाट सुरु गरेको जस्तै लाग्छ । अहिले मसँग नयाँ भाईबहिनीहरुले काम गरिरहेका छन् । नयाँ पुस्तासँग काम गर्नुको आनन्द के पनि भने, उनीहरुमा एकदमै उर्जा र वेग हुन्छ । त्यसैले काम गरिरहँदा थकान र विश्राम महसुष हुँदैन ।

विडम्बना भनौं, ५०–६० वर्षदेखि हामीले सिनेमा बनाइरहेका छौं । तर, यस अवधिसम्म आइपुग्दा हामीसँग जनशक्तिको अभाव छ । न हामीकहाँ कस्ट्युम डिजाइनर छ, न मेकअप आर्टिस्ट । अहिलेको अवस्थामा पनि हामी  विदेशी जनशक्ति गुहार्नुपर्ने वाध्यतामा छौं ।

केही भाइबहिनीहरु सुरुदेखि नै सुटिङ हुने भनिएको गाउँमा गएर आ–आफ्नो काममा खटिएका छन् । कोही कस्ट्युम डिजाइनरको रुपमा त कोही आर्ट डिजाइनको रुपमा । चलचित्रमा देखाइने कुरा बनावटी नदेखियोस् भनेर हामी सचेत छौं । त्यसैले हाम्रो पात्रले लगाउने लुगाफाटोदेखि दैनिक जीवनमा प्रयोग हुने सामग्रीसम्म खोज्ने, जुटाउने काम भएको छ ।

भूगोल र समुदाय अनुसार मान्छेको सोंच–चिन्तन, बाँच्ने शैली, लुगाफाटो, बोलीचाली, दर्शन फरक हुन्छ । यसलाई पनि हामीले मिहिन रुपमा अध्ययन गरेका छौं ।

कथाको अन्तर्य : विकासले प्रकृतिमाथि दोहन

भौतिक विकासको प्रवृत्ति के पनि हो भने, त्यसले प्रकृतिको दोहन गर्छ । कुनैपनि भौतिक विकासले खासगरी आदिवासीलाई मारमा पार्ने रहेछ ।

अहिले जसरी विकासको नाममा अन्धाधुन्द सडकहरु निर्माण गरिदैछ, त्यसले ग्रामिण भेगको मौलिकतालाई मास्दैछ । सस्टनेबल डेभलोपमेन्टको कुरा किन उठ्यो त ? कारण यही हो ।

मलाई बारम्बार लाग्ने कुरा चाहिँ गाउँ जाँदा के लाग्छ भने किन हामी ग्रामिण सुन्दरतालाई दीगो राख्न सक्दैनौ ? जस्तो मनाङको त्यती राम्रो पैदल–मार्ग थियो, त्यसमाथि डोजर कुदाइएको छ । त्यसले २०–२५ वर्ष लगाएर आकर्षित गरेको पर्यटन एकै निमेषमा ध्वस्त बनायो । जबकि त्यो संसारकै सबैभन्दा राम्रो पैदल–मार्ग भनिन्छ ।

अब अहिले के भइरहेको छ भने, सडक बनिसकेपछि फेरी अर्को त्यस्तै पैदल–मार्ग बनाउने तयारी भइरहेको छ । यसले के प्रष्ट पार्छ भने, विकासे योजनामा हाम्रो दूरदृष्टि छैन ।

यसको मतलब यो होइन कि, विकास–निर्माणले बिनास मात्र निम्त्याउँछ । विकासको काम हुनुपर्छ । तर, त्यसले स्थानिय क्षेत्रको मौलिक सौन्दर्य, शिल्प, सीप आदिलाई मास्नु हुँदैन । विकास निर्माण थाल्नुअघि त्यहाँको अवस्थितीको मूल्यांकन गरेर, छलफल गरेर, त्यसको स्वरुपलाई सग्लो राखेर कसरी काम गर्ने भन्ने कुरामा मन्थन गर्नुपर्छ ।

सप्तकोसीमा जहाज कुदाउनका लागि ‘खुवालुङ’ ढुंगा फुटाउने भन्यो । उनीहरुले जुन कुरालाई ‘ढुंगा’ देखें, वास्तवमा त्यो ढुंगा मात्र थिएन । किरात सभ्यता र मिथ जोडिएको त्यो एक सांस्कृतिक विम्ब थियो ।

यसलाई संरक्षण गरेर पनि विकासको कामहरु गर्न सकिन्थ्या होला नि ?

एक ठाउँमा यस्तो दुर्लभ रुख रहेछ, त्यसमा एक सय पच्चीस वटा पात छ भनिन्छ । अहिले त्यस रुखमाथि सडक बनेको छ । अब रुख मासिन्छ वा जोगिन्छ, यसै भन्न सकिदैन । उक्त रुखको प्रचार प्रसार गरेर त्यहाँ आगन्तुकलाई आकर्षित गर्न सकिन्छ भन्ने हामीले सोचेनौं ।

चीनबाट रेल ल्याउने भन्छौं । यो राम्रो कुरा हो । चीनसँग रेलमार्ग खुलिसकेपछि त्यताबाट धमाधम चिनियाँ सामग्री आयत गर्छौं । तर, यताबाट के पठाउने ? के निर्यात गर्ने ? यसबारे हामी पूर्वतयारी गर्दैनौं ।

कुनैपनि विकास योजनाले दुईतर्फी लाभ मिल्नुपर्छ । त्यसले भौतिक, शारीरिक, सामाजिक र मानसिक विकास पनि ल्याउनुपर्यो । यो कसरी संभव हुन्छ त भन्दा त्यसका लागि वास्तवमै राम्रो तयारी र योजना हुनुपर्यो ।

विकास ल्याउनै हुँदैन भन्ने होइन । जुन स्थानीय सौन्दर्य छ, विकास निर्माणको कामले त्यसलाई मास्नु भएन । स्थानिय स्रोत र साधनलाई कसरी सुरक्षित र उपयोग गर्दै विकास गर्ने भन्ने कुरामा गृहकार्य हुन जरुरी छ ।

हामी विकास–विकास भन्छौं । तर, विकासको समूचित आइडिया के हो ? त्यसको मोडल कस्तो हो ? कसरी स्थानीय सौन्दर्यलाई सुरक्षित राख्दै विकास गर्ने ? यतातिर हाम्रो ध्यान जाँदैन ।

विश्वमा कतिपय यस्ता शहर छन्, जहाँ सदियौं पुराना घर–संरचना सुरक्षित राखेका छन् । भलै, ती घरहरु हेर्न पर्यटकको ओइरो नलाग्न सक्छ तर त्यो उनीहरुको पहिचान हो । उनीहरुको आफ्नो मौलिक चिनारी हो । उनीहरुको पूर्खाको सौन्दर्य चेत र सीप हो ।

तर, हामीकहाँ त्यस्तो छैन । पन्ध्र वर्षअघिको घर अहिले हुन्न । अर्कै भइसकेको हुन्छ ।

यस्ता मौलिक कुराहरुलाई मास्नु कि संरक्षण गर्नु चाहिँ विकास हो त ?

विद्यालय खोल्नुलाई हामी विकास मान्छौं । तर, विद्यालयमा के पढाउने, कसरी पढाउने भनेर वहस गर्दैनौं । विद्यालयमा स्थानीय कला–संस्कृति, भूगोल, हावापानीको बारेमा पढाउनुपर्ने होला । स्थानीय उत्पादनको बारेमा पढाउनुपर्ने होला । स्थानीय स्रोत र साधनको उपयोगिता र सीप विकासबारे पढाउनुपर्ने होला । तर, त्यस्तो भएको छैन ।

इलामको माइमझुवामाथि लेकमा पुग्नुभयो भने, त्यहाँ मालिङ्गोको घना जंगल भेटिन्छ । पहिले पहिले त्यसैलेको चित्रा, डोको, डालो, नाम्लो बुनेर जीवन निर्वाह गरिन्थ्यो । घर–गोठमा चित्राले छापिन्थ्यो । तर, अहिले यी सबै कुरा हराएर गएको छ । निगालोबाट हस्तकलाका सामाग्री, फर्निचर जस्ता कति धेरै कुरा बनाउन सकिन्थ्यो होला नि । किन हामीले स्थानिय स्रोतको उपयोग गर्न चाहेनौं वा जानेनौं ?

यी कुरालाई हामीले विकास ठानेनौं । मलेसिया जानु, कतार जानु, अमेरिका जानु, जापान जानुलाई विकास मान्यौं ।