October 1, 2022, Saturday
२०७९ आश्विन १६

पश्चात्ताप !

‘साँझ पर्न लागिसक्यो, कता हिंड्न लागेको यो केटो,’ आमाले घरभित्रैबाट सोधिन् ।

बाबुले पनि पुरानो हुक्का तानेर खोक्दै भने, ‘भोलि प्लेना चढ्ने मुन्छे, फुसर्दां सामान रिडी पार्न छोडेर यो कुकुरको छाउरो डोऱ्याउँदै कता जान लागेको हो?’

तर उसले सुने पनि नसुनेझै गरेर हिंड्यो । बिहानदेखि बाँधेर राखेको कुकुर ऊभन्दा अगाडि लम्क्यो उसलाई नै घिच्याएर । बिहानदेखि घरि पानी पर्ने र रोकिने क्रम चलिरहेको थियो । मौसमसँगै मनमा पनि बदली भइरहेको थियो ।

उसलाई धुम्रपानको तलतलले छटपटि बढाइरहेको थियो । कतिखेर पानी कम होला र घरबाट अलि पर गई धित मार्ने गरी धुँवा उडाउने होला भन्ने सोचमा थियो ऊ ।

थाक्रे हुँदै लमतन्न ओछ्याइएको पृथ्वी राजमार्गको निर्जीव सडक नजिकै उसको सजीव घर थियो । थाक्रेको ओरालोको मोडनेरको घरका पात्रहरुलाई समयले फरक फरक मोडमा लैजान्थ्यो । त्यहाँ बस्ने आमा बाबु र सन्तानको नाउँमा एउटा छोरा ।

घरमा खानलाउनको कमि त थिएन तर पनि गाउँका सबै जवान केटाकेटी कोही काठमाडौं शहर त कोही विदेश जानु संस्कारजस्तै भएको छ गाउँतिर । त्यसैले उसलाई पनि विदेश जाने भूत चढेको थियो ।

बाबु आमाले पनि नजा भन्न सकेनन् । समाजमा पर्न पनि सन्तानलाई विदेश पठाउनुपर्ने अवस्था छ ।

‘गाउँमा हल्लेर हिंड्नुभन्दा केही समय विदेश गएर केही कमाएर ल्याउँछ’ भन्ने बुझाई आम हुने भइहाल्यो । दुबईमा कार्टुनको बक्सा बनाउने कम्पनीमा काम पाएर भिसा आइसकेको थियो । भोलि नै ऊ मुग्लान जाँदै थियो ।

काठमाडौं नजिकै भए पनि ऊ गाउँमै बस्न रमाउँथ्यो । महिना दिन अगाडि केही समय काठमाडौंमा भिसाको लागि बस्नुपर्दा उसलाई उकुसमुकुस भएको थियो । तर ऊ सात समुद्र पारी मुग्लान उड्दै थियो भोलि । मनमा धेरै कुरा चल्दै थियो । शायद चुरोटको सर्कोमा आफूलाई भुलाउने प्रयासमा थियो ऊ ।

*** *** ***

काठमाडौंको मुटु बानेश्वर चोकमा रहेको नाम चलेको ईन्जिनियरिङ कम्पनीको अफिस । भवनको चौथो तल्लामा सानदार क्याबिनमा बसेर कामगरी रहेको आशिष शर्मा । उसलाई किन हो अचेल काममा त्यति मन जाँदैनथ्यो । दुई महिना अगाडि कोरोनाले झन्डै ज्यान गुमाउनु परेको थियो । कोरोनाको लहर धेरै नै बढिरहेको थियो ।

हिजो तराईबाट मम्मीको फोन आयो । ‘घर आइज छोरा, नातिनीको मुख नदेखेको धेरै भो ।’

मम्मीको कुराले उसको मन विचलित भइरहेको थियो । बिहानको ११ बजेको थियो । कसरी बिदा मागूँ भन्ने सोचिरहेको बेला सबैको कप्युटरमा दुई हप्ता वर्क फ्रम होमको नोटिस आयो । कति गज्जब !

उसले हत्तपत्त घरमा फोन गरेर प्रेशिका (श्रीमती)लाई सामान प्याक गर्न लगाउँदै भन्यो- ‘आजै जाने हो तराई ।’

दिउँसोको एक बजेको हुँदो हो । केही घरायसी सामानको किनमेल सकेर ऊ घर फर्कियो ।

‘मम्मी हजुरले भनिस्या थियो कोही यताबाट जाने मान्छे भए भने एउटा ईमरजेन्सी लाइट पठाईदिनु अब हामी जाँदा नै लगिदिनु पर्छ,’ प्रेशिकाले भनिन् ।

‘हुन्छ नि । अहिले जाने बेला पुतलीसडक हुँदै जाउँला अनि किनुँला,’ उसले अगाडि थप्यो, ‘यसैपालि दशैंमा किनेको नयाँ कार राम्रोसँग हात अझै बसिसकेको थिएन तर, पनि आँट गरेर जाने भएँ म । हुन त कुलेखानीको बाटो छोटो पर्दथ्यो तराई जानको लागि तर त्यो बाटो अहिले निकै नै बिग्रेकोले मुग्लिन-नारायणघाटको बाटो जानुपर्छ ।’

सबै काम सकेर कलंकी पुग्दा साढे तीन बजेको हुँदो हो । झ्यालको सिसाबाट देखिने दृश्यले छोरी पनि रमाइरहेकि थिई । यो कोरोना महाव्याधिभरि घरमै थुनिएर बस्नुपर्दा सबैजना वाक्क भैसकेको थिए ।

‘बुढा यसपाली हामी आफ्नै गाडीमा हिंडेको बेला मलेखुको माछा खानुपर्छ है । कतै जाममा परिएन भने ?’ प्रेशिकाले भनिन् ।

आशिषको मनमा खेलिरहेको कुरा प्रेशिकाले भनेकी थिइन् । उसले खुसी भएर सही थाप्यो । नाग ढुङ्गामा गाडीहरूको लर्को थियो । चेकजाँच चलिरहँदा पानी हल्का परिरहेको थियो ।

केहीक्षणको पर्खाईपछि उनीहरू नागढुंगाको ओरालो लागे । हुन त साँझ पर्न केही समय बाँकी थियो तर चिसो मौसमले होला हुस्सु लागेर बाटो अँध्यारो थियो ।

केही क्षणको ड्राईभिङ पछि उनीहरू कफी खानको लागि एउटा राम्रो रेष्टुरेन्टमा छिरे । छोरीलाई भोक लाग्यो होला भनेर दूधको अर्डर गरे । धेरैपछि घर जान लागेकोले मनमा एककिसिमको खुसी छाइरहेको थियो ।

धादिङको बाटो घुमाउरो, गल्छी र ओरालो । अनि रुटमा चल्ने गाडीहरूको ओभरटेक र अरु गाडीलाई पेलेर चलाउने अभ्यासले कहिले यो बाटो काटिएला भनेर सोच्दै थियो आशिष । धादिङ पुग्ने बेलामा छोरी अचानक चिच्याएर रोइन् । आशिषले पछि फर्केर हेर्‍यो । कार्टुन हेरिरहेको बेला मोबाइल खसेछ ।

काठमाडौं फर्किएको पाँच दिनपछि बैंकमा सञ्चित रकम बोकेर ऊ धादिङ हुत्तियो । गाडी पार्किङमा राखेर अनुहार मास्कले ढाकेर ऊ त्यही घरमा पुग्यो । तर घरमा कोही थिएनन् । कुकुर बसेको ठाउँबाट उठेर भुक्यो । उसले पिंढीमाथि एक खाँबोमा ठोकिएको किलामा पैसाको झोला झुण्ड्याइदियो र काठमाडौं फर्कियो । काठमाडौं आइपुग्दा अँध्यारोले साम्राज्य जमाइसकेको थियो ।

ओरालोमा स्पिड पनि थियो । केही खसेजस्तो आवाज आएको थियो । उनले जसोतसो गाडी कन्ट्रोल त गरे, एउटा कुकुर नमज्जाले रोयो । शायद हाम्रो गाडीमा ठोक्किएको हुँदो हो ।

‘म छु नि पछाडि । अगाडि हेरेर चलाइस्यो न,’ प्रेशिकाले भनिन् । ठूलो आवाज आएको थियो । आशिष नयाँ नयाँ चालक भएकोले के भयो भेउ पाउन सकेनन् । प्रेशिकाको अनुहार अँध्यारो भइरहेको थियो ।

आशिष अगाडि बढे । बाटो छोट्याउनुको विकल्प थिएन ।

मलेखुमा उनीहरूले प्लान अनुरुप माछा खाए । गाडीमा तेल पनि हाले । रातको सात बजिसकेको थियो । छोरी निदाएकी थिइन् प्रेशिकाको काखमा । उनीहरू विभिन्न नेपाली हिन्दी गीत सानो भोल्युममा सुन्दैथिए । उनीहरू सचेत थिए कि छोरीलाई डिस्टर्भ नहोस् भनेर ।

बानी नभएर होला लामो समय स्टेरिङ चलाउँदा चलाउँदा हात दुखिरहेको थियो । तै पनि बाटो पार त गर्नैपर्थ्यो ।

बिहानको तीन बजेतिर उनीहरू घर पुगे । सबैजना अचम्ममा परे हामीलाई देखेर ।

गाउँघरको माया नै मिठो हुने । सबैजना चिनेको साथीभाइ, छिमेकीहरू । ताजा खानेकुरा । छोरीलाई पनि खुल्ला ठाउँ भएकोले खेल्नको सजिलो भएको थियो दिनभर कुदिनै रहन्थी । गाउँमा कतै कुकुर देख्दा आशिषको मनमा कुरा खेल्थ्यो- ‘कतै मेरो कारणले त्यो कुकुरलाई केही त भएन ।

एवं रीतले दिनहरू बित्दैगए । अफिसको काम पनि अलिअलि गर्थे तर गाउँमा थियो अघोषित लोडसेडिङ । राम्रोसँग बिजुली नआउने । दिनमा चार पाँचपटक लाइन गइरहने । कहिले त चौबिस घन्टामा पनि नआउने ।

काठमाडौं फर्कने दिन पनि आयो । कति चाँडो दिनहरू बित्यो थाहा नै भएन । बिहानको चिया खाजा खाने बित्तिकै उनीहरु विदावारी भएर हिडेँ । मम्मी-ड्याडीको अनुहार अँध्यारो थियो । नातिनीसँगको बिछोड घडीमा प्रेशिकाको पनि आँखामा आँसु छचल्किरहेको थियो ।

यात्राको क्रममा बीचमा एक ठाउँमा खाजा खान र छोरीको शौचको लुगा फेर्न मात्र रोकिए उनीहरू । नभए कतै नरोकिकन एकैचोटी कुरिनटारमा आएर खाना खाए ।

खाजा खाने ठाउँमा काठमाडौंबाट आउने गाडीको यात्रुले कुरा गरिरहेका थिए- नौबिसे नजिकै धुनिबेशी भन्ने ठाउँमा ग्यास बोक्ने गाडी र ट्रक जुधेर आवतजावत नै ठप्प भएको छ ।

आशिषले सोच्यो- त्यहाँ पुग्दा त शायद खुलिसक्छ । सूचना सही रहेछ । सडकमा उनीहरूको लामो जामसँग जम्काभेट भयो । तीन घण्टा भएछ जाम भएको । संयोगले उनीहरू रोकिएको त्यही ठाउँ थियो जहाँ उनीहरूको गाडीले काठमाडौंबाट आउँदा छोएपछि कुकुर रोएको थियो ।

जाममा कुरिरहँदा खबर आयो- जुधेका गाडी निकाल्न काठमाडौंबाट क्रेन आउँदैन् । भोकले रन्थनिएको छोरी गनगन गरिरहेकी थिइन् ।

रित्तो थर्मस अगाडि सार्दै प्रेशिकाले भनिन्- कतै दूध पाइन्छ कि नभए तातोपानी मात्रै भए पनि ल्याउनु । स्यार्लिक्स बनाएर खुवाउँछ ।

आशिष थर्मस खोजेर यताउता डुलिरहे । केही भेटेनन् । दाहिनेतिर एउटा घर देखियो । उनी त्यतै लागे ।

सडकबाट दुई कान्ला चडेर उनी उक्त घरमा पुगे । उनले सोचे- घरमा पक्कै तातोपानी भने पनि पाइएला ।

‘घरमाको हुनुहुन्छ’ उनी चिच्याए । कसैलाई देखेनन् । तर एउटा कुकुर बसेकै ठाउँबाट भुक्यो । आँगनमा आज कुनै धार्मिक कार्य भएको जस्तो देखिन्थ्यो । पहेलो र सेतो रेखी मेटिसकेको थिएन ।

एकजना बुढा मान्छेले ढोकाखौल्दै भने, ‘बाबुले कसलाई खोज्नुभएकोहो कुन्नि ?’ आशिषले एकै श्वासमा भने, ‘हामी तराईबाट काठमाडौं जान लागेको, जाममा पर्‍यौं । सानी छोरीलाई भोक लागेकोले केही पाइन्छ कि भनेर पसल खोजेँ । एउटा पनि देखिएन । हजुरकोमा अलिकति दूध भए दिनुहोस् । ठूलो धर्म हुने थियो ।’

बुढाको अनुहार मलिन थियो तै पनि घरभित्र हेर्दै भने, ‘बुडिया, बिहान खीर बनाउन लिएको दूध सकियो कि छ हँ ?’ भित्रबाट जवाफ आयो- ‘छ । अलिकति चिया खानको लागि राखेकी छु । किन र ?’

‘यी बाबुकी छोरीको लागि तताएर देऊन । टाढाबाट आउनु भएको रहेछ, विचरा !’

बुढाले पिँढीमा गुन्द्री राख्दै भने- ‘बस्नु न बाबु !’

बुढा बा गहिरो दुःखमा थिए । खासै बोलेनन् । अप्ठ्यारो मान्दै आशिषले सोधे- ‘बा केही पुजाआजा थियो कि आज ?’

बुढाले सुनेनन् कि ! नजिकैको हुक्कामा कोइला फुफु गरेर फुकिरहेको थिए ।

भित्रबाट वृद्ध महिलाले थर्मसमा दूध राखेर ल्याइदिइन् । उनले सुनेकी रहिछिन् मेरो प्रश्न बुडियाले मेरो प्रश्न सुनिछन् । जवाफभन्दा पहिला उनकाे आँखाबाट अविरल आँसु झरे ।

‘आज हाम्रो छोराको १३औं दिनको काम थियो बाबु, साँझपख कुकुर डुलाउन निस्केको थियो, कुन पापीले तल सडकमा गाडीले हानेर भागेछ । विदेश जाने एक दिन अगाडि त्यस्तो भो । हेर्नु कुकुरको पनि खुट्टा भाँचियो । हिंड्नै सक्दैन अहिलेसम्म’ उनले पिंढीमा बसिरहेको कुकुर देखाउँदै भनिन् ।

आशिषले टेकिरहेको जनिम नै भासिएको जस्तो भयो । यो कस्तो दुर्घटना हो र यो कस्तो संयोग ?

के भन्ने कसो गर्ने उसले पत्तो पाएन । दूधको पैसा दिन खोज्यो । महिलाले झन् रुँदै भनिन्, ‘तिमी छोरोजस्तै छौं बाबु । नातिनीले खानेको दूधको के पैसा लिनू ।’

आशिषले ‘कस्तो नराम्रो भएछ’ भनेर दुई शब्द दुःख व्यक्त गर्न पनि सकेन ।

ऊ लर्खराउँदै सडकमा झर्‍यो । बोल्न सकेन । एक घण्टापछि जाम खुल्यो । ऊ गाडी चलाइरह्यो । बोल्नै सकेन । एक मात्र छोरा गुमाएकी वृद्ध आमासँगको बोली तरङ्गित भइरह्यो । प्रेशिकाले धेरैपटक सोधिन् । उसले केही भन्न सकेन ।

उपत्यकामा कोरोनाको लहर कम भएको थिएन । थप एक हप्ता घरबाटै काम गर्नुपर्ने भयो । तर उसले काम गर्न सकेन । ऊ एक्लै पश्चात्तापको आगोले जलिरह्यो ।

काठमाडौं फर्किएको पाँच दिनपछि बैंकमा सञ्चित रकम बोकेर ऊ धादिङ हुत्तियो । गाडी पार्किङमा राखेर अनुहार मास्कले ढाकेर ऊ त्यही घरमा पुग्यो । तर घरमा कोही थिएनन् । कुकुर बसेको ठाउँबाट उठेर भुक्यो ।

उसले पिंढीमाथि एक खाँबोमा ठोकिएको किलामा पैसाको झोला झुण्ड्याइदियो र काठमाडौं फर्कियो । काठमाडौं आइपुग्दा अँध्यारोले साम्राज्य जमाइसकेको थियो ।
आशिषको मनमा लागेको पश्चातापको जालो हट्न त समय लाग्ला तर आकाशमा बादल हटेर चन्द्रमा मुस्कुराइरहेको देखिथ्यो ।