‘आईसीयूमा संक्रमितको चित्कारले मनलाई ज्यादै विचलित बनाउँछ’

१० साउन, काठमाडौं । दोस्रो लहरमा बढी संक्रामक देखिएको कोरोना भाइरसबाट धेरै नागरिकले अकालमै ज्यान गुमाउनु पर्‍यो ।

डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमण बढ्दा देशभरका अस्पताल भरिभराउ भए । अस्पतालमा बेड पाएर अक्सिजन नपाउँदा पनि सयौंले ज्यान गुमाउन पर्यो । अस्पतालहरुमा स्वस्थकर्मीले स्वास्थ्य सामग्रीको अभाव झेल्दै संक्रमितको उपचार गर्नपर्यो । अरुको उपचार गर्दागर्दै धेरैजना आफैं संक्रमित भए । तीमध्ये केहीले ज्यानसमेत गुमाए ।

स्वास्थ्यकर्मीहरुले आफू संक्रमित हुँदा पनि नागरिकको उपचार गर्न छाडेनन् । त्यस्तै चिकित्सकमध्ये एक हुन्- अनिल पोखरेल । प्रस्तुत छ, डा. पोखरेलको अनुभव-सुझाव :

म काठमाडौं मेडिकल कलेज (केएमसी) र स्टार अस्पतालमा कार्यरत छु । जनरल फिजिसियनको रुपमा सेवा थालेर अहिले मिर्गौला रोग विशेषज्ञ छु । मिर्गौला विशेषज्ञ भएपनि कोरोना महामारी फैलिएपछि पूर्णरुपमा कोभिड बिरामीको उपचारमा संलग्न भएँ ।

कोरोनाको पहिलो लहरमा स्टार अस्पतालमा कोभिड प्रमुख र अहिले कोभिड फिजिसियनको रुपमा काम गरिरहेको छु । केएमसीमा पनि कोभिड प्रमुखको जिम्मेवारीमा छु ।

पहिलो लहरमा संक्रमितको उपचारको लागि तयारी गर्ने पर्याप्त समय पाएका थियौं । त्यतिखेर संक्रमण दर पनि कम थियो । हामीले बिस्तारै-बिस्तारै संक्रमितको उपचार गरेर अनुभव संगाल्दै गयौं ।

संक्रमणको सुरुआती अवस्थामा डर-त्रासको मात्रा भने उच्च थियो । त्यही डर-त्राशको कारण उपचारमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु बिरामीमैत्री हुन सकेका थिएनन् । स्टाफलाई विश्वासमा लिएर संक्रमितको उपचार गर्न निकै गाह्रो भयो ।

म स्वयं पनि डराएको थिएँ, तर सधैैं डराएर बस्ने अवस्था पनि थिएन । हामीले नगरे कस्ले गर्छ भन्ने भयो । बिस्तारै संक्रमितको उपचार सम्बन्धी पूर्वाधारहरु पनि तयार हुँदै गयो । अनि, एकनिष्ठ भएर उपचारमा होमिन सहज भयो ।

एक्कासी जसो आएको कोरोना संक्रमणको दोस्रो लहरमा पहिलो लहरमा बनेका स्वास्थ्य पूर्वाधारहरु पूर्ण प्रयोगमा आए । तीव्र गतिमा संक्रमण फैलिँदा अस्पतालहरुमा बिरामीको व्यवस्थापन गर्न सकस पर्न थाल्यो । आईसीयू, भेन्टिलेटर, कोभिड बेड सबैको चरम अभाव भयो । अक्सिजनको पनि हा-हाकार हुन पुग्यो । त्यसरी उपचार प्रणाली नै समस्याग्रस्त बन्दा धेरैले अकालमै ज्यान गुमाउने अकल्पनीय अवस्था पनि सिर्जना भयो ।

आफ्नै आत्मबल बढाउन गाह्रो

पहिलो लहरको अनुभवले दोस्रो लहरमा स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाएर डर-त्रास हराइसकेको थियो । हामीले खोप पनि पाइसकेका थियौं । संक्रमण भइहालेपनि अब सिकिस्त हुने सम्भावना एकदमै कम भयो । यो अवस्थाले संक्रमितको उपचारमा लाग्ने मनोवल उच्च पार्‍यो ।

म स्वयम् भने पहिलो लहरमै संक्रमित भएँ । सुरुमा कुनै लक्षण थिएन, तर बिस्तारै अक्सिजनको मात्रा घट्दै गयो, केही दिनमा निमोनिया देखियो । सास फेर्न गाह्रो हुँदा मरिन्छ कि भन्ने लाग्थ्यो । अनि अक्सिजन लिएर बस्नु पर्ने अवस्था भयो । १५ दिन अस्पताल बसेर ठीक भएँ ।

आफैं संक्रमित भएपछि अस्पतालको बेडमा छट्पटाइरहेका संक्रमितहरुको पीडा नजिकबाट बुझ्न पाएँ । अरुलाई काउन्सिलिङ गर्नु र आफैं संक्रमित भएर बेडमा बस्नुपर्दाको अवस्था फरक हुने थाह भयो ।
आफ्नो निगरामीमा रहेका बिरामीहरुमा अक्सिजन कम हुँदा यसो गर्नूस्, उसो गर्नुस् भनेर काउन्सिल गर्थें । उनीहरुको आत्मबल बढाउन हरसम्भव प्रयत्न गर्थें । आफ्नै आत्मबल बढाउन भने केही दिन निकै गाह्रो भयो ।

सघन उपचार कक्ष (आईसीयू)मा पुगेका बिरामीहरुको चित्कारले सधैं मन विचलित बनाउँछ । त्यहाँ बिरामीले पीडा पोख्न पाउने भनेको हामीलाई मात्रै हो । बोल्न नसक्ने बिरामीले ‘मलाई बचाइदिनू’ भनेर इशारा गर्छन् ।

डाक्टरको दायित्व नै बिरामीलाई बचाउनु हो । बिरामीले नै ‘मलाई बचाइदिनू’भन्दा मन साह्रै भारी हुन्छ । अनेक प्रयास गर्दागर्दै पनि बचाउन नसकिएका बिरामीको आग्रह र इसाराले भित्रभित्रै पोल्छ । कतिपय बेला मानसिक रुपमा विक्षिप्त नै बनाउँछ । आईसीयूमा कसैको मृत्यु हुँदा अन्य बिरामीमा देखिने प्रतिकृया पनि कम त्रासद हुँदैन ।

भेन्टिलेटर पुगेका संक्रमितलाई बचाउन त अझ धेरै गाह्रो हुन्छ । बचाउन हरसम्भव प्रयास गरिन्छ, तर धेरै जीवन आफ्नै अगाडि समाप्त हुन्छ । त्यस्तो अवस्थामा धातुको मन बनाएर अरु बिरामीको उपचारमा जुट्नुको विकल्प हुँदैन । संसार भरकै डाक्टर यसै गर्छन् । निको भएर भेन्टिलेटरबाट निस्केका थोरै बिरामी हेरेर मन बुझाउने, खुशी मान्ने हो ।

दोस्रो लहरबाट के पाठ सिक्ने ?

कोरोनाको पहिलो लहरबाट पाठ नसिकेकै कारण दोस्रो लहरमा ठूलो क्षति बेहोर्नु परेको हो । पहिलो लहरबाट पाठ सिकेर मनग्गे पूर्वतयारी नगर्दा दोस्रो लहरमा देशभरका अस्पतालमा बेड अभाव भयो । अक्सिजन अभावले धेरै जनाले अकालमै मृत्युवरण गर्नु पर्‍यो । अत्यावश्यक स्वास्थ्य पूर्वाधार र सामग्रीको जोहो नगर्दाको परिणाम थियो त्यो ।

अहिले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको आत्माविश्वास त बढेको छ, तर आवश्यक भौतिक पूर्वाधारको हुनपर्ने जति ‘अपग्रेडिङ’ हुन सकेको छैन । दोस्रो लहर जस्तै गरी संक्रमणको तेस्रो लहर चले भयंकर समस्या हुने स्थिति छ ।

तेस्रो लहरबाट बचाउन सबै नागरिकलाई खोपको व्यवस्था गर्नु अति जरुरी छ । संक्रमणबाट बच्ने मुख्य उपाय भनेकै खोप हो । त्यसैले, सरकारले छिटोभन्दा छिटो खोप उपलब्ध गराउन र नागरिकले खोप लिन पर्‍यो ।

खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुप्मा पालना गर्नुपर्छ । यसमा लापरबाही गर्नु भनेको स्वास्थ अपराध गर्नु हो ।