December 3, 2022, Saturday
२०७९ मंसिर १७

‘कोल्याप्स’ हुनबाट जोगिएको जेठो बैंकको ८५ वर्षे यात्रा

२९ कात्तिक, काठमाडौं । अहिले देशका गाउँगाउँमा बैंक पुगेका छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजित गरेर काम गर्न अनुमति दिएको छ । यी बैंक तथा वित्तीय संस्थामध्ये कुनै न कुनै हरेक स्थानीय तहमा पुगेका छन् । अर्थात् वित्तीय पहुँच देशका कुनाकन्दरामा पुगिसकेको छ । अहिले बैंकिङ प्रणाली यति सहज भएको छ कि कारोबार गर्न बैंकमै जानु पर्ने बाध्यता छैन । अनलाईन बैंकिङ कारोबार बढ्दो छ ।

आजभन्दा साढे ८ दशक अघिको युग भने विल्कुलै फरक थियो । साहुमहाजनहरू कर्जा लगानीको कारोबार गर्थे । सुरक्षित बचतका लागि घरैमा थैली र बाक्साको विकल्प थिएन । मुद्रा सटही जस्ता कारोबारका लागि सिमित पैसावालले सहरमा मनी चेन्जर चलाउँथे ।

नेपालमा बैंकिङ युग सुरु भएको भोलि ३० कात्तिकमा ८५ वर्ष पुग्दैछ । नेपालको बैंकिङ इतिहास भन्ने वित्तिकै सबभन्दा जेठो बैंक अर्थात् नेपाल बैंकको नाम आइहाल्छ । १९९४ सालमा श्री ३ जुद्धशमशेर राणाले श्री ५ त्रिभुवनसमक्ष राखेको प्रस्तावको परिणाम थियो, नेपाल बैंक ।

राजाबाट प्रस्ताव स्वीकृत भएपछि जुद्धशमशेरले आफूनिकट केही व्यक्तिलाई बैंक खोल्ने तयारी थाल्न अह्राए । नभन्दै १० जना लगानीका लागि तयार भए, सरकार पनि शेयरधनी रहने भयो । त्यसका लागि १२ जना कर्मचारी तयार गरियो । अनि १९९४ कात्तिक ३० गते राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घाटन भयो । त्यसरी नेपाल बैंकिङ युगमा प्रवेश गर्‍यो ।

नेपाल बैंक स्थापना भएको करीब २ दशकपछि नियामक निकायको पनि आवश्यकता महसुस भयो । अनि २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापना भयो । त्यसबेला नेपाल बैंककै कर्मचारी लगेर राष्ट्र बैंक चलाइएको थियो ।

यति गर्विलो इतिहास बोकेको नेपाल बैंक कुनै बेला धराशायी नै हुन लागेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी नेपाल बैंक स्थापनादेखि हालसम्मको अवस्थालाई चार कालखण्डमा विभाजन गर्छन् ।

पहिलो- स्वर्णिम काल

स्थापनादेखि २०४५ सालसम्मको अवधिलाई पहिलो कालखण्डको रुपमा लिने गरिएको सीईओ अधिकारी बताउँछन् । नेपाल बैंकले स्थापनाको लामो समय प्रतिष्पर्धी बैंक पाएन । १९९४ सालदेखि २०४५ सालसम्मको समय नेपाल बैंकका लागि सुनौलो समयको रुपमा रहृयो । यस अवधिमा बैंकले राम्रा काम गर्यो, नराम्रो केही देखिएन ।

नेपाल बैंकको पहिलो जनरल म्यानेजर (जिएम) भारतीय नागरिक ठाकुरसिंह कठैत थिए । राम्रोसँग नेपाली बोल्ने उनलाई काम गर्न गाह्रो भएन । उनले सुरुमा केही कर्मचारी समेत भारतबाटै ल्याएका थिए ।

कठैतपछि बेलायती नागरिक रिचर्ड नेपाल बैंकको दोस्रो जिएम बने । तेस्रो जिएममा भने आनन्दराज भण्डारी नियुक्त भए । उनी नेपालको बैंकिङ इतिहासमा पहिलो कार्यकारी प्रमुख बने ।

२००३ असार १ गते सामान्य कर्मचारीको रुपमा बैंक प्रवेश गरेका भण्डारी २०२० सालमा कार्यबाहक जिएम र २०२२ मा जिएम नियुक्त भए । उनले २०३७ पुस १ गतेबाट लागू हुने गरी राजीनामा दिएकोमा बैंक सञ्चालक समितिले बैंक छाडेर नजान आग्रह गर्दै जिएमको भन्दा आकर्षक सुविधासहित पूर्णकालीन सल्लाहकारमा नियुक्त गरेको थियो । उनी दुईवर्ष सो पदमा रहे ।

त्यस अवधिमा बैंकमा अरु दुई जना जिएम नियुक्त भएका थिए । २०३९ सालमा सरकारले राजभण्डारीलाई नै नेपाल बैंकको जिएम नियुक्त गर्यो । पटक-पटक कार्यकाल थपिदै उनी २०४५ सालसम्म जिएमको जिम्मेवारीमा रहे । २०४५ माघ ८ गते जिएमबाट अवकाश लिएका उनी २०४७ माघ ७ गतेसम्म बैंक सञ्चालक समितिको सल्लाहकार रहे ।

‘त्यो अवधिलाई हामी नेपाल बैंकको स्वर्णकालको रुपमा लिन्छौं, आनन्दराज भण्डारीको नाम लिने ग्राहकहरू अझै हुनुहुन्छ’, सीईओ अधिकारी भन्छन्, ‘उहाँले बैंकलाई सफलतापूर्वक ‘ड्राइभ’ गर्नुभयो ।’

दोस्रो- संक्रमणकाल

२०४६ सालमा भएको राजनीतिक परिवर्तनको असर बैंकिङ क्षेत्रमा पनि पर्‍यो । मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापनापछि बैंक पनि एक व्यक्तिमा केन्द्रीत रहेन । जिएम राजभण्डारी बाहिरिएपछि नेपाल बैंकको ओरालो यात्रा शुरु भयो ।

त्यसपछिका दिनमा प्रगति होइन, यथास्थितिमा रहन पनि बैंकलाई गाह्रो पर्दै गएको सीईओ अधिकारी सुनाउँछन् । ‘राजनीति छिरेपछि व्यवस्थापन सम्हालिन सकेन ।त्यसबेला बैंकलाई नराम्रो असर पर्नुमा भित्री र बाहिरी दुवै कारण छन्’ सीईओ अधिकारी भन्छन्, ‘अनि बैंक संक्रमणकालको बाटो लाग्यो गुज्रियो ।’

यो काल २०५८ सालसम्म रहेको उनी बताउँछन् । बैंकमा जेजति कमजोरीहरू भए यहीँ अवधिमा भएको उनले बताए । त्यो अवधिमा बैंकको निस्कृय कर्जा अनुपात बढेर ६० प्रतिशतसम्म पुग्यो । अर्थात्, सय लगानी गरेकामा ४० रुपैयाँमात्रै उठ्ने, ६० प्रतिशत जोखिम युक्त कर्जाको रुपमा परिणत हुने अवस्थता आयो ।

त्यसबेला बैंकमा ६ हजार कर्मचारी थिए । बैंकको पुँजी भने ३८ करोड रुपैयाँमात्र थियो । १० अर्ब रुपैयाँ नेगेटिभ नेटवर्थ थियो । घाटा हुने क्रम झन्झन् बढ्दै जाँदा कर्मचारीलाई सर्वसाधारणले राखेको निक्षेपबाट तलब खुवाउनपर्ने स्थिति आयो । ‘अहिले वर्षमा तीन अर्ब नाफा कमाइन्छ, त्यसबेला त तीन खर्ब घाटा थियो’, सीईओ अधिकारी भन्छन् ।

२०५५ सालदेखि त बैंकले लेखापरीक्षण गराउनै सकेन । बैंक यति धेरै समस्यामा परयो कि अब ‘कोल्प्यास’ हुने ‘कन्फर्म’ जस्तै भयो ।

माओवादी युद्धमा गाउँगाउँका रहेका शाखा कार्यालयहरू असुरक्षित थिए । असुरक्षित र घाटामा गएका धेरै शाखा त्यसैबेला बन्द भए । घाटाका शाखाहरू बन्द गर्दा बैंकको खर्च कतौटी भयो ।

तेस्रो- सुधारको काल

अब नेपाल बैंक ‘कोल्प्यास’ नै हुन्छ भन्ने भइरहेको बेला अर्को सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक पनि समस्यामा थियो । बैंकहरू निकै नराम्रो अवस्थामा गुज्रिएपछि सरकारले ‘फाइनान्सीयल रिर्फम’ (बैंकिङ क्षेत्र सुधार अभियान) थाल्यो ।

दुई बैंकमा सुधार र राष्ट्र बैंकलाई रिइञ्जिनियरिङ गराउन अमेरिकी विज्ञ टोलि बोलाइयो । ‘नेपाल बैंक लिमिटेड इज टेक्नीकल्ली इन्सल्भेन्ट भन्ने त्यो त्यो टोलीको निचोड थियो’ सीईओ अधिकारी भन्छन् ।

बैंकमा व्यवस्थापकीय अक्षमता, कर्जा अनियमितता, एकदमै लथालिंग रेकर्ड प्रणालीलगायत कमजोरीहरू त्यसबेलाको अध्ययनले देखाएको थियो । त्यसपछि राष्ट्र बैंकले २०५८ साल चैत १ गते नेपाल बैंकलाई प्रत्यक्ष नियन्त्रणमा लियो । त्यसबेला भवानी देवी शर्मा जिएम थिइन् । जिएमभन्दा माथि संयोजक भनेर राष्ट्र बैंकले बासुदेव जोशीलाई नेपाल बैंकमा खटायो ।

राष्ट्र बैंकले नियन्त्रणमा लिएको करीब पाँच महिनापछि २०५९ साउनमा नेपाल बैंक विदेशी व्यवस्थापनको जिम्मामा गयो । ‘त्यसरी २०५९ सालदेखि २०७१ सालसम्म सुधारको अवधि बन्यो’ सीईओ अधिकारी भन्छन् ।

२०६४ सालमा विदेशी व्यवस्थापन टोलिको करार अवधि सकिएपछि २०७१ चैतसम्म राष्ट्र बैंक आफैले व्यवस्थापकीय जिम्मेवारी लिएको थियो । त्यो अवधिमा निस्कृय कर्जा घट्यो, समयमै लेखापरीक्षण गराउने, प्रविधि प्रयोग बढाउनेलगायत सुधारका कामहरू भए ।

२०७१ चैतमा पहिलो पटक खुला प्रतिष्पर्धाबाट देवेन्द्रप्रताव शाह नेपाल बैंक लिमिटेडको सीईओ बने । त्यसपछि समस्याको अवधि टुंगिएको सीईओ अधिकारी बताउँछन् ।

चौथो- बजार निर्देशित समय

धराशायी हुनबाट जोगाएर राष्ट्र बैंकले नेपाल बैंकको नियन्त्रण हस्तान्तरण गर्यो । अनि खुला प्रतिष्स्पर्धाबाट बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्‍यो । त्यसपछिको समय अहिले चलिरहेको छ । यो समयलाई ‘बजार निर्देशित’भन्दा उपयुक्त हुने सीईओ अधिकारी बताउँछन् ।

उनका अनुसार अहिले ढड्डायुग अन्त्य गरेर प्रविधियुक्त सेवा प्रवाह भइरहेको छ । पहिले बन्द भएका शाखा कार्यालयहरू खुलेका छन् । विकट क्षेत्रमा समेत शाखा विस्तार भएको छ । २०६० को दशकको सुरुमा ९६ वटा शाखा रहेकोमा अहिले २१३ वटा पुगेको छ । सात प्रदेश कार्यालय र ४७ एक्टेक्सन काउन्टर सञ्चालनमा छन् ।

आजको यो अवस्थाबाट अगाडी जान जनशक्तिको भार घटाएर प्रविधि प्रयोग बढाएको सीईओ अधिकारी बताउँछन् ।

अन्य वाणिज्य बैंकसँग प्रतिष्पर्धा

कुनै बेला बन्द हुने अवस्था झेलेको नेपाल बैंक अहिले अरु वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धामा छ । नेटवर्थ होस् या अन्य सूचक, धेरैमा नेपाल बैंक राम्रै स्थानमा देखिएको छ । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुमध्ये नेटवर्थको हिसावले नेपाल बैंक पहिलो नमबरमा थियो ।

क्यापिटल फण्ड, क्यापिटल एडिक्योसी र निक्षेपको हिसावले नेपाल बैंक अगाडि नै छ । कुनै पनि बैंकको स्वस्थता मापन गर्ने परिसूचक यी नै हुन् । यसैका आधारमा नेपाल बैंकलाई स्वस्थ र बलियो बैंक भन्न सकिने सीईओ अधिकारी बताउँछन् । सिडी रेसियो, बेसरेट, कस्ट अफ फण्ड आदी सबैमा आफूहरू बलियो रहेको उनले बताए ।

‘नेपाल देशको नाम जोडिएको बैंक हो नेपाल बैंक । नेपाली जनताको बैंक हो यो’, उनी भन्छन्, ‘यो बैंकसँग जोडिएको नेपाली जनताको भावनालाई ‘क्यास’ गर्न भने हामीले सकेका छैनौँ ।’