एनसेलद्वारा लैनचौर मैदान पुनर्निर्माण, सर्वसाधरणका लागि खुला

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण गरेको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत लैनचौर मैदानको पुनर्निर्माण गरेको हो । पुनर्निर्माण गरिएको लैनचौर मैदान काठमाडौं महानगरपालिका वडा नम्बर-२६ लाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ । योसँगै मैदान आमनागरिकका लागि खुला पनि गरिएको छ ।

यो परियोजना वडा नम्बर-२६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नत्ति गरिएको एनसेलले जनाएको छ ।

लैनचौर मैदान आमनागरिकका लागि खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलको पनि आयोजना गरिएको थियो ।

५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले यसको पुनर्निर्माणको जिम्मेवारी लिएको थियो । कम्पनीले आगामी २ वर्षसम्मका लागि मर्मतसम्भार गर्नेछ ।

मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानीमात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था छ ।

मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच गत वर्ष सम्झौता भएको थियो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको भन्दै प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेको बताए ।

वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए ।  लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजक (रम्बा)ले पहिलेको धुले मैदान अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानको रूपमा परिवर्तित भएको भन्दै खुसी व्यक्त गरे ।