December 3, 2022, Saturday
२०७९ मंसिर १७

भात संस्कार : कहाँबाट शुरु भयो, कसरी विश्वभर फैलियो ?

१२ मंसिर, काठमाडौं । बिहानै भात, साँझै भात । यही भात बन्ने चामल र चामल बन्ने धानको इतिहास कति पुरानो होला ? वा नेपालीले यही चामलबाट आफ्नो भोक मेटाउन थालेको कति भयो होला ? नेपालीहरूको अधिकांश खाना चामलविना सम्भव छैन । खाद्य संस्कार मात्रै होइन, हाम्रा धार्मिक गतिविधिमा समेत चामल आवश्यक पर्छ । यति महत्व दिइएको चामल के नेपालमा मात्रै विशेष हो त ? यसको उत्पत्ति र विस्तार कसरी भयो होला ?

नेपालमा धान खेतीको उत्पादनलाई हेर्दा तराईको फाँटदेखि हिमाली जिल्ला जुम्लामासम्म अनुकुल वातावरण देखिन्छ । धान खेतीको लागि तापक्रमले मुख्य भूमिका खेल्छ । धान लगाएको समयमा वायुमण्डलीय तापक्रम २१-३७ डि.से.सम्म उपयुक्त हुन्छ । गाँज हाल्ने समयमा तापक्रम २०-२५ डि.से. उपयुक्त हुन्छ भने फूल पसाउने समयमा तापक्रम २६.५-२९.५ डि. से. हुनुका साथै दिन लामो भएमा उत्पादन बढी हुन्छ (अन्नबाली खेती प्रविधि पुस्तिका-२०७४)।

सन् २०१८ मा विश्वभर उत्पादित धानको तथ्यांकको आधारमा हेर्दा विश्वमा वार्षिक ७६ करोड टनभन्दा धेरै चामल खपत हुने गरेको छ । विश्वका १२० मुुलुकमा उत्पादन हुने चामलमध्ये सबैभन्दा धेरै चीनमा (सन् २०१९÷२० को तथ्यांक अनुसार १४ करोड ६८ लाख मेट्रिक टन) धान उत्पादन हुने गरेको छ । धेरै धान उत्पादन हुने मुलुकमा भारत दोस्रो स्थानमा छ । सन् २०१९÷२० को तथ्यांक अनुसार भारतमा वार्षिक ११ करोड ८८ लाख मेट्रिक टन धान उत्पादन भएको थियो (स्टाटिस्टा डटकम) ।

भारतवर्षमा धानको उत्पादनको इतिहास खोज्दा वैदिक कालसम्म पुग्न सकिन्छ । यजुर्वेदमा धानका पाँच प्रजातिबारे उल्लेख गरिएको छ । त्यसमध्ये गर्मीमा उत्पादन हुने धानलाई ‘शष्टिका’, वर्षा याममा उत्पादन हुने चामललाई ‘वर्षिका’ वा ‘वृही’, पतझरको समयमा उत्पादन हुने चामललाई ‘शरद’ र चाडो मौसममा तयार हुने चामललाई ‘हिमातंका’ वा ‘शाली’ भन्ने उल्लेख छ (फुड एण्ड ड्रिंक्स अफ एन्सियन्ट इन्डिया -डा. ओमप्रकाश (सन् १९६१)।

वैदिक साहित्यपछिका संहिता एवं स्मृतिग्रन्थहरुमा पनि धानको उत्पादनबारे धेरै प्रमाण पाइन्छ । सुश्रुतले ‘विश्यण्डक’ नामक परिकारको उल्लेख ‘सुश्रुत संहिता’मा गरेका छन् । जुन परिकार बनाउँदा चामललाई घिउमा भुटेर तयार पारिन्छ । यसबाहेक हामीले तयार पार्ने खीरको बारेमा पनि विभिन्न वैदिक साहित्यमा उल्लेख छ । त्यस्तै, ‘उत्रैका’ भन्ने अर्को परिकार छ, जुन चामलबाटै बन्ने परिकार हो । यसबाहेक ‘पुपालिका’ चामलबाटै बन्ने अर्को खाद्य परिकार हो । जुन हिजोआज तयार पार्ने केकजस्तै आकारमा पकाएर तयार पारिन्थ्यो ।

चरक संहितामा कामोद्दीपक औषधि तयार पार्ने क्रममा पनि चामलको पीठोको चर्चा गरिएको छ । गोहीको अण्डालाई चामलको पीठोमा हालेर घिउमा पकायो भने कामोत्तेजना बढ्छ भन्ने चरक संहितामा उल्लेख छ ।

चामलको इतिहास

जंगली घाँसलाई भकारीमा भर्दासम्मको इतिहास धेरै लामो छ । यसले कति समय जंगली घाँसकै अस्तित्वमा बितायो त्यो खोजीको विषय होला । तर मान्छेले भकारीमा भर्न थालेपछिको इतिहास नै धेरै लामो भेटिन्छ ।

पुरातत्ववेत्ताहरु चीनमा आजभन्दा ३००० देखि ४००० वर्षको बीचमा धानको उत्पादन शुरु भएको बताउँछन् । चीनमा चामलको इतिहासबारे लेखिएको पुस्तक जेङ छ्योङसेङको पुस्तक ‘चीनमा चामलको इतिहास’मा पनि यही उल्लेख छ । इसापूर्व ७७० देखि इसापूर्व ४७६ को बीचमा चीनको मुख्य अन्न नै चामल बनेको थियो (द हिस्ट्री अफ राइस इन चाइना-जेङ छ्योङसेङ)।

अर्को विचारधाराले विश्वास गर्छ कि धानको बोट दक्षिणी भारतमा उत्पत्ति भएको हुनसक्छ । त्यसपछि देशको उत्तरमा फैलियो र त्यसपछि चीन हुँदै कोरिया पुगेर २००० इसापूर्वमा हालको फिलिपिन्ससम्म पुग्यो र लगभग १००० ईसापूर्वमा यो जापान र इन्डोनेसियासम्म विस्तार भयो भन्ने इतिहास भेटिन्छ ।

तर, पुरातात्विक प्रमाणले भने एसिया महादेशमा पहिलोपल्ट चीनको यांगत्से नदीको किनारमा धानको उत्पादन शुरु गरिएको देखाएको छ । जीवशास्त्रको एउटा शाखा मोर्फाेलोजिकल अध्ययनका अनुसार डायटंगुहन गुफा क्षेत्रमा उत्पादित धानको प्रमाण पाइएको छ । त्यहाँको प्रमाण अनुसार आजभन्दा १२ हजार वर्ष पहिले नै धानको उपभोग शुरु भइसकेको वैज्ञानिक प्रमाणले देखाउँछ ।

वैदिककालसम्म भारतवर्षको प्रधान अन्न गहुँ थियो । त्यसपछि चामलले गहुँको ठाउँ लियो । चामलको उपभोग एसिया क्षेत्रमा धेरै हुन्थ्यो । इसापूर्व चौथो शताब्दीतिर विश्व विजय गर्न निस्किएका अलेक्जेण्डरले भारतवर्षबाट पश्चिममा चामल भित्र्याए भन्ने पश्चिमी इतिहासमा भेटिन्छ । त्यतिबेला चामललाई ‘ओरिजोन’ नाम राखिएको थियो । अलेक्जेन्डरको समयपछि हालको इजिप्ट, स्पेन लगायतका मुलुकहरुमा पनि चामलको उत्पादन शुरु भयो ।

अफ्रिकन चामलको नामबाट आजभन्दा ३५ सय वर्ष पहिले नै उत्पादन शुरु भएको भएपनि पछि पोर्चुगल र नेदरल्याण्ड्स जस्ता मुलुकहरुले आफ्नो उपनिवेशसँगै अफ्रिकामा चामलबाट बनेका परिकार खाने चलन बढाएर लगे । त्यसपछि बिस्तारै चामल संस्कार अमेरिकासम्म पुगेको देखिन्छ ।

चामलसँग जोडिएका अनौंठा संस्कार

संसारका विभिन्न मुलुकमा धानसँग जोडिएका रोचक किस्साहरु भेटिन्छन् । चीनमा चामललाई लिएर एउटा रोचक किंवदन्ती छ । जस्तो, केटीहरु आफ्नो थालमा जति धेरै भात छाड्छन्, उति नै उनीहरुको पतिको अनुहारमा डण्डीफोर आउँछ भन्ने विश्वास छ । शायद यो अन्न जोगाउनको लागि तयार पारिएको किंवदन्ती पनि हुन सक्छ ।

जापानमा यो विश्वास गरिन्छ कि पकाउनुअघि चामल भिजाउँदा त्यो परिकारबाट सकारात्मक ऊर्जा उत्पन्न हुन्छ र त्यसले खानालाई थप शक्तिशाली बनाउन सहयोग गर्छ । इन्डोनेसियामा राम्रोसँग चामलको परिकार बनाउन नजान्ने बुहारीलाई घर गर्न सहज हुँदैन । त्यहाँ बुहारी छनोट गर्ने सबैभन्दा ठूलो आधार यही हो । यसरी विभिन्न मुलुकको संस्कृतिमा चामलको महत्व छुट्टै छ ।