‘फिक्सन’ फिल्ममाथि भारतीय निर्माताको अर्बौं लगानी

१६ फागुन, काठमाडौं । ‘बाहुबली’, ‘तान्हाजी’, ‘केजीएफ’, ‘पुष्पा’जस्ता चलचित्रका कारण भारतमा फिक्सन र काल्पनिक चलचित्रको क्रेज बढेको छ । योसँगै निर्माताहरु अर्बौं लगानीमा फिक्सन चलचित्र बनाइरहेका छन् ।

निर्माताको ठूलो लगानी यस्तो चलचित्रमा हुँदा दर्शकले यी चलचित्रलाई कसरी लिने हुन् भन्ने विषय पनि उठेको छ । आलिया भट्ट, रणवीर कपूर र अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘ब्रम्हास्त्र’ एक साहसकि काल्पनिक माइथोलोजिकल चलचित्र हो । यो चलचित्रमा तीन सय करोड भारुको लगानी छ ।

निर्माणपक्षले यो चलचित्रको तीनवटा शृङ्खला रिलिज गर्ने तयारी गरेको छ । चलचित्रमा अभिनेता रणवीर कपूर सुपरहिरोको रुपमा देखिंदैछन् । यो चलचित्र एक युवतीको कथामा आधारित छ, जो सुपरपावर लिएर जन्मिन्छिन् ।

मार्च ११ बाट रिलिज हुन लागेको साउथको प्रतिक्षित चलचित्र ‘राधे श्याम’ पौराणिक कथामा बनेको रोमान्टिक चलचित्र हो । चलचित्रमा प्रभास र पूजा हेग्डे मुख्य भूमिकामा देखिंदैछन् । ३५० करोडको बजेटमा बनेको यो चलचित्रलाई हिन्दी र तेलुगू भाषामा निर्माण गरिएको छ ।

टेलिभिजनको दुनियाँमा वर्षौंसम्म दर्शकको माया जित्न सफल सुपरहिरो कथाको ‘शक्तिमान’ नामक सिरियल अब ठूलो पर्दामा बनाउने तयारी गरिएको छ । सोनी पिक्चर्स इन्टरनेसनलले तयार पार्न लागेको यो चलचित्रको बजेट पनि महंगो हुने बताइएको छ ।

यस्तै निर्देशक नागराज मञ्जुले चाँडै नै छत्रपति शिवाजी महाराजको कथालाई पर्दामा देखाउने तयारी गरेका छन् । यो चलचित्रलाई तीन सिरिजमा बनाउने तयारी गरिएको छ । अभिनेता रितेश देशमुख चलचित्रमा शीर्ष भूमिकामा देखिंदैछन् । चलचित्रलाई हिन्दी, मराठीका साथै अन्य विभिन्न भाषामा तयार गरिने भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

५०० करोडको बजेटमा तयार भइरहेको चलचित्र ‘आदिपुरुष’ पनि दर्शकको प्रतीक्षामा छ । यो चलचित्र माइथोलोजिकल कथामा तयार भइरहेको छ । चलचित्रमा रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र रावणको भूमिकामा सैफअली खान देखिंदैछन् । ओम राउतको निर्देशनमा तयार भइरहेको यो चलचित्रलाई थ्रीडीमा रिलिज गरिनेछ ।

यता, अभिनेत्री श्रद्धा कपूर ‘नागीन’ बन्नका लागि तयार छिन् । निर्देशक विशाल फुरियाले यो कथामा काम गरिरहेका छन् । यो चलचित्रमा श्रद्धा इच्छाधारी नागिनको भूमिकामा देखिंदैछन् ।

अर्की अभिनेत्री कंगना रनौत चाँडै नै पिरियड ड्रामा ‘सीताः द इकार्नेसन’मा सीताको भूमिकामा देखिंदैछिन् । अलौकिक देसाईको निर्देशनमा तयार हुने यो चलचित्रलाई एसएस स्टुडियो र सलोनी शर्माले लगानी गर्दैछन् । विजयेन्द्र प्रसादको कथामा तयार भएको चलचित्रलाई मेघा बजेटमा तयार गर्ने तयारी गरिएको छ ।

यी बाहेक अन्य निर्माताहरु पनि बलिउडमा करोडांै रकम खर्च गरेर चलचित्र बनाउँदैछन् । जसका कारण दर्शकले पर्दामा सुपरहिरोको कथा पर्दामा हेर्न पाउनेछन् ।