December 3, 2022, Saturday
२०७९ मंसिर १७

भूलाखेलमा नित्यनाथ भजनपाटी पुनःनिर्माण भयाे

काठमाडौँ, साउन १६ गते । मध्यपुर थिमि नगरपालिका वडा–५ भूलाखेलमा नित्यनाथ भजनपाटी पुनःनिर्माण गरिएको छ ।
विनासकारी भुकम्पले क्षतिग्रस्त ऐतिहासिक सो पाटीसँगैका दुई घरलाई मुआब्जा दिएर सो घरले चर्चेको ठाउँसहित पुननिर्माण गरिएको हो ।
पाटी पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष अनिस श्रेष्ठले नगरपालिकाको एक करोड ८० लाख रूपियाँ आर्थिक सहयोगमा उक्त पाटीको पुनःनिर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले नित्यनाथ भजनपाटीलाई बलियो एवं कलात्मक बनाउने उद्देश्यले ३२ वटा काठका थाम, काठका मयुर एवं टिकी झ्या (आँखीझ्याल) सहित अष्टमातृका देवीको चित्र अङ्कीत झ्यालसहित पुननिर्माण गरिएको बताउनुभयो । कलात्मक इट्टाले पाटीको सौन्दर्यमा थप चमक थपेको छ ।
मध्यपुर थिमि नगरपालिकामा सो पाटीसहित टोल–चोक तथा पोखरीका डिलमा रहेका करिब ३७ वटा पाटीको पुनःनिर्माण तथा संरक्षण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठ, झिगटी तथा इट्टाले बनेका पाटी नगरपालिकाको मौलिक सम्पदाभित्रै पर्ने भएकोले स–सानोदेखि ठूला सबैखाले पाटीको मर्मत सम्भार तथा आवश्यक परे पुनःनिर्माण नै गरी संरक्षण थालिएको बताउनुभयो ।
उहाँले पोखरी, पाटी, मन्दिर, विहार, चैत्य, पार्क, इनारको संरक्षण गरी मध्यपुर थिमि नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको समेत बताउनुभयो ।