December 3, 2022, Saturday
२०७९ मंसिर १७

झुलनोत्सव पर्वको रमझम

जलेश्वर, साउन ३१ गते । त्रेताकालमा साउन महिनामा रामसीताहरु झुला झुलेको सम्झना स्वरुप हरेक वर्ष मिथिलाञ्चलमा मनाईने झुलनोत्सव पर्व शुरु भइसकेको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित बाबा कुट्टी र मटिहानी स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइदै आएको झुलनोत्सव पर्वको रमझमले गर्दा महोत्तरी सुरम्य बनेको छ । साउन शुक्ल तृतीया देखि पुर्णिमासम्म मनाईने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान रामसिताको मुर्ति राखि भजन किर्तन गर्दै झुलाघरमा लगिने परम्परा रहेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । उहाँले त्रेताकालमा रामसीता यसैगरी झुला झुलेको सम्झना स्वरुप झुलनोत्सक मनाइने गरेको बताउनुभयो ।

मिथिलाको महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा रहेको छ । मटिहानी मठको झुला घरमा रामसिताको मुर्ति राखि धार्मिक गित र भजन किर्तनका साथ राति अवेर सम्म झुला झुलाउने गरिएको कुरा वैष्णव सम्प्रदायका प्रसिद्ध मठ लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्ण्वले वताउनुभयो । झुलाको अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिने भएपनि यसवर्ष कोरोना महामारीका कारणले मेलामा कमी आएको छ । सीमानाकासंग नजिकै रहेको सो स्थलमा मेला हेर्न र भगवान रामसिताको भुलनोत्सवमा सहभागि हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लाग्ने गरिएपनि यसवर्ष भिड नभई स्थानीयबासीहरु मात्रै सहभागी भएको नगरप्रमुख मण्डलले बताउनुभयो ।

सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायण लगायत्का मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा रहेको छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरुले आफ्ना आराध्य खेलाई झुलाउने परम्परा रहेको छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । साँस्कृतिक पर्वसंग जोडिएको यो झुलनोत्सव धर्मका साथसाथै पर्यटकसंग जोडिएको जानकारी दिनुहुदै उहाँले कोरोना महामारीका कारणले यसको रौनकमा केही कमी आएपनि परम्परालाई निरन्तरता दिइएको बताउनुभयो ।