December 6, 2022, Tuesday
२०७९ मंसिर २०

कानको समस्या विपन्न र दुर्गम भेगमा किन बढी ?

एक वर्षअघि म कर्णाली प्रदेशको मुगु पुगेको थिएँ, स्वास्थ्य शिविरको सिलसिलामा । त्यहाँ यस्ता बच्चा थिएनन्, जसलाई कानको समस्या नहोस् । मलाई नै थाहा थिएन कि कानको समस्या यति विकराल छ भनेर ।

त्यहाँका बालबालिकामा कानको संक्रमण, जाली फाटेको र हड्डी खिइने समस्या थियो । मैले आफैंलाई प्रश्न गरें, किन यिनीहरुमा यतिविघ्न कानको संक्रमण छ ?

खासमा के रहेछ भने त्यहाँका बासिन्दाले कानको संक्रमणलाई अत्यन्तै सामान्य रुपले हेर्ने रहेछन् । कान पाक्नु भनेको नाकबाट सिँगान बग्नुजस्तै हो भन्ने उनीहरुको बुझाइ थियो । उनीहरुको अज्ञानताले गर्दा यसो भएको रहेछ । अर्को चाहिं त्यहाँको चालचलनले गर्दा पनि यस्तो भएको पाएँ ।

कानमा समस्या भएपनि पौडी खेल्ने, भिज्ने गर्दा रहेछन् । कोही पनि यस्तो मान्छे थिएनन्, जसले कान पाकेको बेला पौडी खेल्न हुँदैन, भिज्नु हुँदैन भनेर उनीहरुलाई सतर्क गराओस् । यसैगरी आमाले दूध चुसाउँदा बच्चालाई सही ढंगले सुताउन नजानेर पनि कानको समस्या भएको पाइयो ।

हामीले उनीहरुलाई वीर अस्पताल आउन भन्यौं, शल्यक्रियाको लागि । अन्यत्र खर्चिलो हुने भएकाले वीर अस्पतालमै उनीहरुलाई बोलाएका थियौं । कतिपयले आएर शल्यक्रिया गराए पनि । तर, सबै जनालाई काठमाडौंसम्म आउन पनि गाह्रो छ ।

कानको समस्या भन्नासाथ शुरुमा त संक्रमण हुने नै हो । संक्रमण भइरहँदा जाली फाट्ने समस्या हुन्छ । जब कानको जाली फाट्छ, तब मुख्यतः दुई किसिमको समस्या बढ्छ । पटकपटक कानको संक्रमण हुने र कान कम सुन्ने ।

यसैगरी तराईका बस्तीहरुमा पनि धेरै कानको समस्या पाइयो । जुन हामीले अनुमान गरेकै थिएनौं । त्यहाँ कानको समस्या बढी हुनुमा जनघनत्वको कारण पनि हो । एउटै कोठामा धेरैजना कोचिएर बस्नुपर्ने कतिपयको बाध्यता छ । यस्तो अवस्थामा एउटालाई रुघा लागेमा अरु सबैलाई सर्ने भयो । रुघा सरेपछि कानको संक्रमण हुने जोखिम बढ्छ । कानको संक्रमण भएर पनि उनीहरुलाई त्यसको उपचार गर्नुपर्छ भन्ने ज्ञान छैन ।

नेपालको अधिकांश जिल्ला पुगिसकेको छु । यसक्रममा मैले के पाएको छु भने कानको समस्या सर्वत्र छ । कानको संक्रमण हुने, जाली फाट्ने, भित्री हड्डी खिइनेजस्ता जटिलताले धेरैलाई सताएको छ । नाक, कान, घाँटीमध्ये कानको समस्या बढी छ ।

रोगले धनी–गरिब भन्दैन भनिन्छ । तर कतिपय रोगको संक्रमण दर हेर्ने हो भने यसले विपन्न, अशिक्षित र दुर्गमका मानिसहरुलाई सताएको पाइन्छ । यसो हुनुमा केही कारण छन् । एक त स्वास्थ्यप्रति जागरुकता नहुनु । दोस्रो, स्वास्थ्य सेवा सहज नहुनु । तेस्रो, उपचार खर्चको अभाव हुनु हो ।

जस्तो कानको संक्रमण वा त्यसले निम्त्याएको अरु जटिलताको कुरा गर्ने हो भने यो समस्या धेरैजसो विपन्न परिवारमा देखिन्छ । साथै दुर्गम भेगका अशिक्षित व्यक्तिहरुमा यो समस्या बढी छ ।

त्यसो त विकसित मुलुकको तुलनामा अल्पविकसित मुलुकमा यस किसिमको समस्या बढी छ । अल्पविकसित मुलुकको पनि दुर्गम भेगमा र विपन्न परिवारमा यस रोगले धेरै सताएको पाइन्छ । अतः हाम्रो जस्तो मुलुकमा यसले भित्रभित्रै विकराल रुप लिइसकेको छ ।

कति जटिल हुनसक्छ कानको समस्या ?

कानको समस्या भन्नासाथ शुरुमा त संक्रमण हुने नै हो । संक्रमण भइरहँदा जाली फाट्ने समस्या हुन्छ । जब कानको जाली फाट्छ, तब मुख्यतः दुई किसिमको समस्या बढ्छ । पटकपटक कानको संक्रमण हुने र कान कम सुन्ने ।

यो समस्या बढ्दै गएमा कानभित्रको हड्डी खिइने जोखिम बढ्छ । यो हड्डी मस्तिष्क नजिक हुने भएकाले संक्रमण बढ्दै गएको अवस्थामा मस्तिष्कमै समस्या ल्याउन सक्छ । केही समयअघि मात्र एउटा शल्यक्रिया भएको थियो, जसको मस्तिष्कमा पिप जमिसकेको थियो । कान पूरै हड्डीले खाएको । यो निकै जोखिमपूर्ण अवस्था थियो । अतः कानको शल्यक्रिया गर्दा हाम्रो साथमा न्युरो सर्जन डा. राजीव झा पनि साथमै थिए । ती व्यक्तिको कानको शल्यक्रिया गरेपछि मस्तिष्कबाट पिप निकालियो ।

मेरो भनाइ के हो भने कानको सामान्य संक्रमण भइरहेको छ वा जाली फाटेको छ भने यसलाई बेवास्ता गर्नु हुँदैन । भोलि गएर यसले ठूलो जटिलता निम्त्याउन सक्छ । त्यसैले कानमा सामान्य समस्या हुनासाथ जचाउनु र सम्बन्धित चिकित्सकबाट परामर्श लिनुपर्छ ।

जनचेतना जरुरी  

शिक्षित परिवार र हुनेखाने वर्गका व्यक्तिले त सामान्य स्वास्थ्य समस्या आउनासाथ जचाउने गर्छन् । उनीहरु स्वास्थ्यप्रति सतर्क र जागरुक पनि हुन्छन् । तर दुर्गम भेगका, अशिक्षित परिवारका सदस्यहरु यसबारे बेखबर हुन्छन् ।

कानमा कस्तो समस्या भएको हो ? त्यो कति जटिल हुनसक्छ ? यसको उपचार कहाँ गर्ने, कसरी गर्ने, कति खर्च लाग्छ भन्ने कुरामा उनीहरुलाई कुनै जानकारी हुँदैन । अहिले रेडियो, टेलिभिजन, पत्रपत्रिका वा सामाजिक सञ्जालबाट पनि यस्तो जानकारी लिन सकिन्छ । तर उनीहरु यी सबैको पहुँचमा हुँदैनन् । पत्रपत्रिका र अनलाइनमा छापिएका कुरा उनीहरुसम्म पुग्दैन । पुगेपनि लेखपढ गर्न सक्दैनन् ।

त्यसैले स्थानीयस्तरमा स्वास्थ्य केन्द्रहरु, स्थानीय प्रतिनिधिहरुले यसबारे व्यापक रुपमा जनचेतना जगाउनु जरुरी हुन्छ । स्थानीय तहले आ–आफ्ना क्षेत्रमा यसबारे जनचेतनामूलक कार्यक्रम गर्ने, उपचारका लागि सहयोग गर्ने, बेलाबखत स्वास्थ्य शिविर आयोजना गर्ने गरेमा प्रभावकारी हुन्छ ।

(वीर अस्पतालका वरिष्ठ नाककानघाँटीरोग विशेषज्ञ डा. केसीसँग गरिएको कुराकानीमा आधारित)