मायांक अग्रवाल पञ्जाबको कप्तान नियुक्त

१६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनका लागि पञ्जाब किंग्सले मायांक अग्रवाललाई कप्तान नियुक्त गरेको छ ।

आईपीएलको १५औं सिजन सुरु हुनु एक महिनाअघि पञ्जाबले सोमबार ओपनर अग्रवाललाई कप्तान चयन गरेको हो ।

अघिल्लो सिजन लोकेश राहुलले पञ्जाबको कप्तानी गरेका थिए । तर उनी यस सिजन टिम छाडेर गएपछि पञ्जाबले नयाँ कप्तान घोषणा गरेको हो ।

पञ्जाबका मुख्य प्रशिक्षक अनिल कुम्बलेले मायांकको नेतृत्वमा टिमको बलियो आधार तयार पार्न लागेको बताए । दिल्ली क्यापिटल्स, राइजिङ पुने सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोरका लागि खेलिसकेका अग्रवाल सन् २०१८ मा पञ्जाबमा अनुबन्ध भएका थिए ।

कप्तान चयन भएपछि अग्रवालले आफ्नो लागि यो सम्मानको विषय भएको र टिमलाई नेतृत्व गर्ने अवसर पाउँदा खुशी लागेको बताएका छन् ।

पञ्जाबले यस सिजनका लागि मेगा अक्सनअघि अग्रवाल र अर्शदिप सिंहलाई मात्र रिटेन गरेको थियो ।

अग्रवालले अहिलेसम्म ११ सिजन आईपीएल खेल्दा २३.४१ को औसत र १३५.४७ को स्ट्राइक रेटमा २ हजार १३१ रन बनाएका छन् ।