रुबी खानले तोडिन् अनसन

आमरण अनसनरत रुबी खान र सरकारबीच सहमति भएसँगै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेको छ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता पारिएको सन्दर्भमा सरकारले छानबिन समित गठन गरेसँगै अनशनरत महिला अधिकारकर्मी खानले मंगलबार अनशन तोडेकी छन् ।

नकुन्नी र निर्मलामाथि माथि भएको अन्यायका सम्बन्धमा गठन गरिएको समितिले दिएको सुझावलाई अक्षरश पालना गर्ने शर्तमा आन्दोलनरत पक्ष सरकारसँग सहमति गर्न तयार भएको हो ।

महिला अधिकारकर्मी खान नकुन्नी र निर्मलाको न्यायका लागि ११ दिनदेखि अनशनरत थिइन् । अधिकारकर्मी खानले माइती नेपालकी संरक्षक अनुराधा कोइराला, मानव अधिकारकर्मी मोहना अन्सारी, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको रोहबरमा अनशन तोडेकी छन् ।

सरकार पक्ष त्रिवि शिक्षण अस्पतालमा पुगेर महिला अधिकारकर्मी खानसँग सहमति गरेको थियो । छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।