December 3, 2022, Saturday
२०७९ मंसिर १७

‘बोजु’ बोक्नेहरूको कथा- नेपालीलाई जहाँ पनि दुःख नै लेखेको रहेछ

पीडा आ-आफ्नै छन् । देश घुम्दै जाँदा देखिन्छ । ती पीडाहरूलाई मल्हमपट्टी लगाउन नसके पनि,  तिनका वेदनालाई कोट्याउने गर्छु । राज्यले सम्बोधन गर्न सकोस् या नसकोस्, तर भुईंमान्छेहरूको भोगाइ र कर्मको साक्षी हुन म लेख्ने गर्छु । म घुम्छु देशलाई हेर्न । म घुम्छु बेला बेला देशको चित्र हेर्न । अनि लेख्छु भुईंमान्छेहरूको कथा ।

यसै सन्दर्भमा आज म महाकाली पार गरेर धार्चुलामा बोजु बोक्नेहरूको कथा पस्कँदैछु । ‘बोजु बोक्ने’ अर्थात् भारी बोक्नेहरूको कथा ।

दार्चुला यानिकी नेपालको सबैभन्दा सुदूरपश्चिमको जिल्ला । भारत र चीनसँग सीमा जोडिएको एउटा दूरदराजको नेपालको एउटा जिल्ला । लिपुलेक, लिम्पियाधुरा र कालापानीको बहसले बेलाबेलामा राष्ट्रिय मिडियाहरूमा चर्चा आइरहने एउटा जिल्ला । त्रि-देशीय नाका भएको जिल्ला । उत्तरपट्टिको सिमाना चीनसँग जोडिएको र जुन अग्ला हिमालहरूले छुट्याएको र भारतसँगको सीमा भने लिपुलेक, लिम्पियाधुरा र कालापानी उद्गमस्थल भएर आउने महाकाली नदीले छुट्याएको छ ।

माथि ब्यास उपत्यकामा महाकाली पारि र वारि सीता पुलबाट हुँदोरहेछ भने तल खलङ्गामा पारि र वारि आवतजावत महाकाली पुलबाट हुँदोरहेछ । महाकाली वारि नेपालको भूमि दार्चुला र महाकाली पारि भारतको भूमि धार्चुला नामले चिन्ने गरिन्छ ।

यही नेपालको दार्चुला खलङ्गा र भारतको धार्चुला महाकाली नदीमा रहेको एउटा झोलुङ्गे पुलले जोडेको छ । यही महाकालीको झोलुङ्गे पुलले दुई देशलाई जोड्ने मात्र नभएर कैयौं परिवारको जीवन गुजाराको पुलको काम गरिरहेको रहेछ ।

जब बिहानको सात बज्छ अनि महाकालीको पुलमा रहेको हरियो रंगको जस्ताको गेटको चाबी नेपाल प्रहरीका दुई जवानहरूले खोल्छन् । अनि शुरु हुन्छ- आवतजावतको दिनचर्या । कोही पारि जाने, कोही वारि आउने, कोही भारी बोकेका त कोही खाली आउनेजाने क्रमहरू चलिरहन्छ । त्यही हुलभित्र केही यस्ता मानिसहरू पनि थिए जसको काँधमा जेउरो (नाम्लो) बोकेर पारि (भारत) जाँदै थिए । मैले केहीबेर त्यहाँको दृश्य हेरिरहें।

करीब आधा घण्टाको अवलोकन पछि म पनि महाकाली पुल तरेर पारि धार्चुला गएँ । पुल तरेपछि पारि भारत (धार्चुला) पुलको गेटमा भारतीय सुरक्षाकर्मीहरू तैनाथ थिए र सोधे- आप का ब्याग में क्या है ? देखाए जी ।

मैले झोला खोलेर देखाएँ र भनें- एक क्यामेरा है सर जी और कुछ नही । प्रहरी जवानले सोधे- ‘आप क्यों आया सर जी ?’

मैले भनें, ‘मे काठमाण्डौ से घुम्ने के लिए आया सर जी ।’ प्रहरीले भने- ‘ठिक है, उधर नाम लेखिए ।’

छेउमा दुई जना महिला पुलिसहरूले नाम टिपाउँदै थिए र मैले नाम टिपाएँ र अघि बढें ।

पिच गरेको बाटोलाई तेर्सो-उकालो फेरो लगाएपछि  केहीबेरमा एउटा चोकमा पुगियो, जहाँ गान्धीजीको सालिक थियो । गान्धीजी भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक नेतृत्व तथा आध्यात्मिक नेता । उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेको दक्षिण अफ्रिकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको थियो । त्यही सालिकको वरिपरिका पसल र ठेलाहरू कुनै खुलेका थिए त कोही खुल्दै थिए ।

अघि जेउरो (नाम्लो) बोकेर आएका नेपाली दाजुभाइहरू पनि यताउता सडकमा हिंडिरहेका थिए । मलाई लागिरहेको थियो- उनीहरू कामको खोजमा यताउति गरिरहेका थिए ।

त्यसैबेला एकजना अधबैंसे नेपाली टोपी लगाएकासँग मैले संवाद थालें ।

मैले परिचय गर्न चाहें । उनले भने, ‘मेरो नाम जगत सिंह धामी, मेरो घर नौगाड गाउँपालिका ।’ मैले यो काम कहिलेदेखि थाल्नुभएको भनेर सोधें । ‘बोजु बोक्न’ थालेको ९-१० वर्ष भएको उनको जवाफ थियो ।

‘अनि काम कस्तो छ त ?’

उनी मैले सोधेभन्दा धेरै जवाफ दिन थाले । यस्तो लाग्यो कि उनी आफ्नो कथा व्यथा भन्न चाहन्छन् । दुःख बाँडेर हल्का हुन चाहन्छन् । उनी बोलिरहे । म सुनिरहें ।

‘धोका हुन्छ सर, कहिले रातिसम्म हुन्छ । तर अब महीनौं महीना उता टाढा टाढा जानुभन्दा यहाँ नेपाल नजिक नै काम गरेको राम्रो । के गर्ने सर नेपालमा काम पाउँदैन । काम पाउन आफ्नो मान्छे चाहिन्छ । नेपालमा काम पाउने भए यता अर्काको देशमा किन आउनुपर्थ्यो । हाम्रो देशमा काम पाउँदैन । यसो दुई चार पैसा कमाउन यता नआई हुँदैन । पुसको महीना घर जान्छु, चिसो हुन्छ । यहाँ नजिक भएको कारण आउने जाने भइरहन्छ । घरमा पनि खेती किसानीको काम हुन्छ । खेती गर्ने बेला घरमा जाने । परिवारमा ७ जना छौं । कोभिडले गाह्रो गर्‍यो । काम गर्न पाएन । घरमै बसें । घरमा पनि काम गर्नुपर्छ । मेरो दुइटा छोरी र एउटा छोरा छ । बुवा अनि आमा, एउटा भाइ छ । कोभिडको बेला काम गर्न पाएन । गाह्रो भयो । यता नि बन्द भयो । दुःख भयो ।’

कुराकै सिलसिला उनले थपे- ‘मेरो परिवार दुलिगाडमा छ । म बिहान ७ बजे आउँछु र दिनभरि बोजु बोकेर बेलुका ५ बजे फर्किन्छु । धार्चुलाबाट दार्चुला बोजु बोक्नुपर्छ । पारि नेपालबाट भन्दा यता भारतबाट उता (नेपाल) बोजु बोक्नुपर्छ । खासगरी चामल, तेल, चिनी, नुन, प्याज, तरकारी खानेकुरा, प्लास्टिकका चप्पलहरू यस्तै यस्तै ।’

जगत सिंह धामीसँग केहीबेर गफिएपछि म नगर घुम्दै गएँ । एउटा ट्रकबाट प्याजको बोरा बोकेर केही हूल नेपालीहरू पोल्टी गर्दै थिए । ती हूलमा थिए युवादेखि पाको उमेरसम्मका पुरुषहरू र केही महिलाहरू पनि । त्यसैको केही पर अर्को ट्रकबाट पनि नेपाली दाजुभाइहरू चामलको बोरा पोल्टी गर्दै थिए ।

त्यहाँको दृश्य अवलोकन पश्चात् गान्धी चोकको बायाँपट्टि सडक पेटीमा उभिइरहेका अर्को नेपाली दाजुसँग संवाद गरें ।

तुर्माखाँद गाउँपालिका-२ का ५० वर्षीय वीरसिंह धामी रहेछन् उनी ।

उनले भने, ‘बोजु बोक्न थालेको २५ वर्ष भयो । परिवारमा दुई छोरा र दुई छोरी छन् । हामी बूढाबूढी गरेर ६ जना छौं । परिवार घरमा गाईभैंसी हेर्ने गर्छिन् ।’

मलाई जान्न मन लाग्यो भारी कत्तिको पाइन्छ र दिनमा कतिपटकसम्म बोक्नुपर्छ ? उनले भने, ‘हजुर पायो भने दिनभरि बोक्छु । कहिले पाउँछ कहिले पाउँदैन । दुई चार महीना घरमा जान्छु र दुई चार महीना यता आउँछु । नेपालमा काम पाउँदैन । यता काम चाहिं धेरथोरै जे भए पनि पाउँछ । छोराछोरी पढ्छन्, तिनको खर्चपर्चको लागि पैसा चाहिन्छ अनि यता आएर काम नगरी पैसा देख्न पाउँदैन । हामी त यसरी अर्काको देशमा काम गरेका छौं । छोराछोरी राम्रोसँग पढेर यस्तो काम गर्न नपरोस् भनेर दुःख गरिरहेको छु हजुर । कोही १२ मा पढ्छन्, कोही १० मा पढ्छन् । कोही पढिसकेको छ । हाम्रो नोकरीचाकरी केही छैन, नोकरी भन्नु नै यही भयो ।’

गफिंदै जाँदा उनले आफ्ना समस्याबारे भन्न थाले । ‘यता आएपछि कहिले लकडाउन हुन्छ, वारिपारि गर्न दिंदैन । कहिले काम पाउँदैन । यस्तै यस्तै छ । कोही लेबर काम गर्छन्, कोही दिनभरि काम गर्छन् । आफूखुशी काम गर्छन् । दिनभरि काम गर्नु भन्दा ‘बोजु बोक्ने’ काम राम्रो छ । घर जान पनि पायो । पैसा पनि हाताहात पाउँछ । दिनभरिको काममा यताउता कराउने काम हुन्छ । बोजु बोक्दा काम गर्‍यो पैसा थाप्यो । बोजु त आफ्नो मन लागे बोक्यो । मन नलागे नबोके नि हुन्छ । दिनभरिको काममा साहुको काम दिनभर गर्नु पर्‍यो । ठेकेदारले ६ महीनाको काम गरे एक महीनाको पैसा दिन्छ । फसाउँछ । त्यसैले यही राम्रो छ । मेरो गाउँबाट १५ जना जति छन् । शुरुमा २५ वर्ष अगाडि त यता यस्तो ठूलो बजार थिएन । केही वर्ष यता मात्र बजार ठूलो भएको हो ।’

मुखबाट निस्किरहेको शब्दलाई उछिनेर उनका आँखाबाट आँसु बग्न थाले । रुञ्चे स्वरमा उनले भने, ‘मलाई त धेरै पीडा छ । मेरो एउटा मात्र छोरा थियो, त्यो पनि कोभिडले लग्यो । छोरालाई हुर्काएँ, बोजु बोकेरै पढाएँ र विद्युतमा नोकरी लाग्यो तर यो कोभिडले लग्यो । दुई नातिनातिना छन् । उनीहरूको मुख हेरेर बाँच्नै पर्‍यो, मर्न सकिंदैन रहेछ

विस्तारै बजारको चहलपहल निकै बढिरहेको थियो । मानिसहरू यताउति गरिरहेका थिए । बिहानीको घामको पहिलो किरण धर्तीमा परिसकेको थियो । गान्धी चोकको प्राङ्गणमा मानिसहरू घाम ताप्न पनि बसेका थिए । गान्धी चोकको पूर्वपट्टिको रोडमा बोलेरो जीपहरूको लावालस्कर थियो । बोजु बोक्नेहरू कोही खाली जेउरो र नाम्लो बोकी यताउति डुलिरहेका थिए भने कोही बोजु बोकेर हिंडिरहेका थिए । म पनि यताउतिको दृश्य अवलोकन गर्दै थिएँ । गान्धी चोकको पश्चिम पट्टि सडकपेटीको एउटा कुना तीनचार जना बोजु बोक्नेहरू बसिरहेका थिए र म त्यतै लागें ।

चार जना बोजु बोक्नेमध्ये एक जना बूढो बा थिए । एक जना बूढी आमै र दुई अन्य युवा तन्नेरीहरू । त्यहाँ पुगेपछि मैले सबैलाई अभिवादन टक्राएँ र सामान्य गफगाफ शुरु भयो । मैले आफ्नो परिचय दिएँ । उनी रहिछिन् पुर्चौडी गाउँपालिका-२ की ४९ वर्षीया मनमती बडाल ।

म उनलाई सुन्न थालेँ- ‘म नयाँ हुँ । काम त पाउँछ । तर कहिलेकाहीं कसैले ठग्छ । जहान परिवार सबै छुट्टै छुट्टै छौं । बुढा बिते पहिला नै । दुई छोरा छन् । एक चेलो धनगढी छ । एक चेलो बेङ्लोर छ । सेकुरेटीमा काम गर्छ । उनीहरू सबै आफ्नो परिवारसँग बसेका छन् ।

उनीहरूले आफ्नो जहान पाल्छन् । मुन को दिन्याँ (मलाई कस्ले दिन्छ) । त्यसैले यता काम पाइजाला भनी आया हुँ । यस्तै छोराछोरी पाले ठूला भए, उनीहरू आआफ्ना बाटा लागे । खानु त पर्‍यो । काम गरे पो खान पाइएला हेहे’ उनले हाँस्दै भनिन् ।

उनको भारी बोक्दाका अनुभव त्यति मीठो छैन । एकातिर भारीको बोझ अर्कोतिर ग्राहकले दिने धोका । उनी भन्छिन्, ‘बोजु बोक्दा पैसा ठीकै दिन्छ । कहिलेकाहीं ठग्छन् । ५० रुपैयाँ दिन्छु भनी बोजु बोकाउँछ अनि ३० रुपैयाँ मात्र दिन्छ । अघि भर्खर ४० रुपैयाँ दिन्छु भने र बोजु बोकें, पछि ३० रुपैयाँ मात्र दियो ।’

मनमती बडालसँगको कुराकानी पछि उनकै छेउमा बसेका बुढा बासँग बात मारें ।

उनी रहेछन् पुर्चौडी गाउँपालिका-९, बैतडीका ६९ वर्षीय उदयसिंह बोहोरा ।

‘छोरा छोरीले अब बूढो हुनुभयो, काम गर्न नजानुस् भन्दैनन् ?’ मेरो प्रश्न भुईंमा नखस्दै उनले भने, ‘भनेर पुग्दैन हजुर, भनेर कहाँ हुन्छ, पुग्नु पर्‍यो नि । भनेर पुग्न्या भए म कहाँ आउँदो हुँ ।’  उनले अगाडि थपे, ‘म त लकडाउनको बेला नौ महीना यतै बसें । त्यतिबेला गाई चराउने, बोजु बोक्ने, बच्चा बोक्ने काम गरियो ।’ उनले १०-१२ वर्षदेखि बोजु बोक्न थालेका रहेछन् ।

भारी बोक्न चाहेर मात्र हुँदैन । कहिलेकाहीं त भारी नै पाइन्न । ‘यसै भन्या कहाँ पाइन्छ त, कही दिन एक बोजो पाइन्छ, कही दिन दुई बोजो पाइन्छ, कही दिन चार पाँच बोजो पाइन्छ, कही दिन आठ दश बोजो पाइन्छ । ठ्याक्कै यति नै भन्ने छैन । कही दिन एकह ना मिल्न्याँ हो । कहिले राम्रो कमाइ हुन्छ । कोही कोहीले बूढो मान्छे भनेर बढी पैसा पनि दिन्छन् ।’

ज्यानले सक्ने उमेरसम्म भारी बोक्नुपर्ने बाध्यता छ उनलाई । ‘जबसम्म ज्यानले सकिन्छ त्यसबेलासम्म भारी बोक्न्या छु । यो ज्यानको के भर छ, भोलि पनि जान सक्छ, ८०-९० सम्म पनि बाँच्न सकिन्छ । जाँडरक्सी त खाने गरेको छैन तर बिंडी चाहिं खान्छु । थकाइ लाग्यो भने चाहियो बिंडी’, उनले भने ।

गफ गरें । कुरा सुनें । कुरा सुनाएँ । अनि म बिदा माग्दै फर्किएँ । बाटामा अर्का पाका उमेरका बा भेटें ।  दुहुँ हिकिलाका ६५ वर्षीय जनक सिंह बडाल उर्फ जस्सुवा रहेछन् उनी ।

अरुको भन्दा खासै फरक अनुभूति उनको पनि थिएन । उनले भने, ‘यहाँ नेपालमा काम नै पाउँदैन । अन्न उब्जनीले जीविका चल्दैन । त्यसैले पारि (भारत) काम गर्न जानुपर्छ । अरुको देशमा काम गर्दाको पीडा छ नि । के गर्ने पैसा कम दिन्छ, अलि अलि हेप्छ । काम गरेर जति दियो त्यत्ति नै समायो आयो र त्यत्तिमै चित्त बुझाउनुपर्छ । कम भन्न पाउँदैन । हामी त ८-१० वर्ष भयो चिनेको जानेको छ । नयाँ मान्छेलाई त झनै गाह्रो हुन्छ । म त धेरैलाई चिन्छु । अस्ति भर्खर पुर्छौडी गाउँपालिकाका एक जना र दुहुँ गाउँपालिकाका एकजना गरी दुई जना माथि जडीबुटी खन्न गएकाहरू हराए । तिनीहरूको अहिलेसम्म पत्तो पाएको छैन । के गर्ने यस्तै छ, यहाँ नआई गुजारा चल्दैन । यहाँ घाटमा कहिले के भन्छ कहिले के भन्छ । कहिले नागरिकता ल्याउ भन्छ कहिले पास ल्याउ भन्छ । कहिले खोप लगायो कि लगाएन, खोप कार्ड ल्याउ भन्छ । के गर्ने हामी नेपाली भएर जहीं पनि दु:ख पाउन लेखेको रहेछ ।’

मुखबाट निस्किरहेको शब्दलाई उछिनेर उनका आँखाबाट आँसु बग्न थाले । रुञ्चे स्वरमा उनले भने, ‘मलाई त धेरै पीडा छ । मेरो एउटा मात्र छोरा थियो, त्यो पनि कोभिडले लग्यो । छोरालाई हुर्काएँ, बोजु बोकेरै पढाएँ र विद्युतमा नोकरी लाग्यो तर यो कोभिडले लग्यो । दुई नातिनातिना छन् । उनीहरूको मुख हेर बाँच्नै पर्‍यो, मर्न सकिंदैन रहेछ । म र बुहारी अनि दुई नाति खलंगामा बस्छौं । बुहारी बच्चाको स्याहारसुसार गर्छिन्, नानीहरूलाई स्कूल ल्याउने पुर्‍याउने काम गर्छिन् । म बिहान यता (भारत) आएर दिनभरि बोजु बोक्छु र साँझ खलंगा फर्किन्छु । यसो दिनको कहिले ४००-५०० र ज्यादा कमाइ भए हजारसम्म हुन्छ । मेरो परिवार माथि गाउँमा छिन् । एउटा गाई छ र घरको रेखदेख गर्छिन् । बोजु बोकेरै छोरालाई १२ सम्म पढाएँ । विवाहवारी गराएँ र नोकरी पनि लाग्यो । अब राम्रो होला, सुख पाउँला भनेको कोरोनाले लग्यो । के गर्नु यो उमेरमा आएर यस्तो विपत्ति आइपर्‍यो ।’

यी र यावत् कुराहरू सुनिरहँदा मन भित्र प्रश्नहरूको भेल आए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहहरूमा करोडौंको रकम जान्छ । तर रोजगार पाउनै पर्नेहरूले पाइरहेका छैनन् । दलका कार्यकर्तालाई बाटोमा कुचो लगाएर बाँड्ने अभ्यास भइरहेको छ ।

स्थानीय तहहरु विकासको रकम आ-आफ्ना कार्यकर्ता र आफ्ना मान्छेलाई पोस्न खर्च गरेका समाचारहरु आइरहेका छन् । उपभोक्ता समितिमा कार्यकर्ता भर्ती गर्ने, किर्ते हस्ताक्षर गरी योजनाको समापन नै नगरी कर्मचारीसँगको मिलेमतोमा लाखौंको बजेट कुम्ल्याउने काम भइरहेको छ । पूर्व जाउँ वा पश्चिम जहाँ गए पनि गाउँबस्तीका समस्या आफ्नै आँखाले देख्दा मन पोल्छ । अवस्था कहालीलाग्दो छ ।

देशको ढुकुटीमा केही हुनेखाने वर्गको हालीमुहाली छ । गरीब दिनानुदिन झनझन् गरीब र धनी र पहुँचवालाहरू दिनानुदिन झन् धनी बनिरहेका छन् । तर भुईंमान्छेहरूको अवस्था झनै नाजुक बन्दै गइरहेको छ । गाउँ बस्तीहरूमा छोटे राजाहरूको बोलवाला बढिरहेको छ । बोजु बोक्नेहरू सधैं बोजुले भारले थिचिएर त्रासदीपूर्ण जीवन बाँचिरहेका छन् ।

हिजो २५ वर्षदेखि बोजु बोक्नेहरूको जीवनमा परिवर्तन आउनुपर्ने हो तर आएको रहेनछ । देशमा धेरै राजनीतिक परिवर्तनहरू भए पनि बोजु बोक्नेहरूको जीवनमा कुनै परिवर्तन आएको छैन । २५ वर्षको दौरानमा देशमा कैयौं नेताको जीवनमा आमूल परिवर्तन आए पनि बोजु बोक्नेहरूको जीवन भने जहाँको त्यहीं रहेको देखिन्छ । ६५ वर्षका जनकसिंह बडाल होस् या ६९ वर्षीय उदयसिंह बोहोरा, उनीहरूको जीवनमा परिवर्तन कहिले आउने ?

के उनीहरुले बाँचुञ्जेल भारी बोकिरहनुपर्ने हो ? भारी बोक्न नसक्नासाथ भोकले मृत्यु मर्नुपर्ने हो ? नेताहरूले भन्ने गरेको समाजवाद र समृद्धिको लहर कता पुगेको छ ?  यो त केवल महाकालीको एउटा सानो नाकाको दृष्टान्त मात्रै हो । यस्ता लाखौंको संख्यामा आफ्नो देश छोडेर कर्म गर्न विदेशिनुपर्ने नागरिकहरूले आफ्नो देशमा रोजगारीको अवसर कहिले पाउने ?

प्रश्नहरु प्रशस्तै छन् । जवाफ छैनन् । भएका जवाफहरुले पनि हाम्रो जमीन चिन्दैन ।

(लेखक मानवशास्त्री हुन् ।)