October 1, 2022, Saturday
२०७९ आश्विन १६

महिलाहरुमा किन बढ्दैछ कपाल झर्ने समस्या ?

१० फागुन, काठमाडौं । अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।

पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ ।

छाला तथा यौनरोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण सर्जन डा. रुपक घिमिरे ५० देखि ६० प्रतिशत पुरुषमा कपाल झर्ने समस्या देखिने गरेको बताउँछन् । महिलाहरुमा पनि झण्डै १० प्रतिशतमा यस्तो समस्या देखिन्छ । महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का कारणले पनि भएको डा. घिमिरे बताउँछन् । त्यस्तै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको उनको भनाइ छ ।

डा. रुपक घिमिरे

सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा वंशाणुगत कारण र अर्को ‘एन्ड्रोजेनेटिक एलोपेसिया’को कारण । साधारण भाषामा भन्दा टेस्टेड्रोन भन्ने हर्माेनको कारण मानिसमा कपाल झर्ने समस्या देखिन्छ । अहिले १५–१६ वर्षका किशोरहरुमा समेत कपाल झर्ने समस्या देखिने गरेको छ ।