December 3, 2022, Saturday
२०७९ मंसिर १७

महाकालीमा बर्सेनि बेपत्ता हुन्छन् व्याँसका बासिन्दा, लालाबालाको विचल्ली

१८ साउन, धनगढी । शुक्रबार बिहान दार्चुलाको व्याँस गाउँपालिका-२ का जयसिंह धामी वैदेशिक रोजगारीका लागि संघीय राजधानी काठमाडौं जान घरबाट हिंडेका थिए । परिवारसँग छुटिने क्रममा उनले श्रीमतीलाई आफ्नो योजना सुनाउँदै छिट्टै फर्किने आश्वासन दिएका थिए । ‘कुनै राम्रो देशको भिसा लागेपछि म विदेश जान्छु नभए काठमाडौंमै काम गर्छु, विदेश गएन भने गौरा पर्व मनाउन घर फर्किहाल्छु, चिन्ता नलिनू,’ जयसिंहले श्रीमतीलाई भनेका थिए, ‘फोनमा कुराकानी भइहाल्छ । घर आउने बेला तिमी र छोराछोरीका लागि राम्रा-राम्रा लुगा ल्याइदिन्छु ।’ यति भनेर निधारमा रातो टीका थाप्दै जयसिंह श्रीमती, पाँच वर्षीय छोरा र छोरीसँग बिदा भए ।

भारतको बाटो भएर सदरमुकाम खलंगा, खलंगाबाट बसमार्फत काठमाडौंको यात्रा तय गर्न गाउँकै बिक्रम रंगोली र अनिता धामीसँगै उनी महाकाली नदीतिर लागे । व्याँस गाउँपालिका-२ स्थित मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले फलामे डोरी निकालिदिएपछि उनी महाकालीको भेलमा खसे । महाकालीको भेलमा जयसिंह त बगेबगे । परिवारको आशाको दियो पनि सधैंका लागि निभ्यो ।

श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरीका सहारा जयसिंह महाकालीमै बिलाए । परिवारले अब उनी जीवितै नभेटिने भन्दै कुसको आकृति बनाएर हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिसकेको छ ।

बेसहारा बनेकी श्रीमती र टुहुरा भएका छोराछोरीको लालनपालन अब कसले गर्छ ? डेढ वर्ष अघि उनी विदेश जाँदा दलालले फसाएपछि लागेको ऋण कसले तिर्छ ? जयसिंहको विलयसँगै यी र यस्तै अनेकौं चुनौतीको सामना अब उनकी श्रीमती र अबोध छोराछोरीले जिन्दगीभर व्यहोर्नुपर्ने पक्का छ ।

०००

महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले रुखमा बाँधेको तुइनको फलामे डोरी फुकालिदिएपछि नदीमा खसेर बेपत्ता भएका धामीको परिवार जस्तै कथा व्याँसका कयौं परिवारको छ । कुरा २०७२ साल साउन महिनातिरको हो, व्याँस गाउँपालिका-२ दुम्लीङका बरुसिंह बुढाथोकी परिवारका लागि खाद्यान्न ल्याउन सदरमुकाम खलंगा आउने क्रममा नदीमा खसेर बेपत्ता भए । महाकाली तुइन तर्ने क्रममा कम्मरमा बाँधिएको डोरी चुडिँदा उनी महाकालीको उर्लदो भेलमा खसेका थिए । बुढाथोकीको अहिलेसम्म अत्तोपत्तो छैन । परिवारले जयसिंहको जस्तै उनको पनि कुशको आकृति बनाएर हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको थियो । परिवारका लागि खाद्यान्न ल्याउन सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट खसेर नदीमा बगेपछि उनकी श्रीमतीको सिउँदो पुछियो, चार छोराछोरी टुहुरा भए । त्यतिबेला बरुसिंहकी जेठी छोरी १६ वर्षकी थिइन् । अरु छोरी १२ वर्षकी, छोराहरु ६ र ९ वर्षका थिए । केही समय जेनतेन छोराछोरीको पालनपोषण गरेकी आमा पछि अर्कैसँग बिहे गरेर गएपछि उनीहरु पूर्ण रुपमा बेसहारा बने । ‘केही समय काकीले सुख दुःख गरेर भाइबहिनीहरुलाई हुर्काउनुभयो,’ उनका भतिजा मुकेश बुढाथोकीले भने, ‘पछि उहाँ अर्कैसँग बिहे गरेर गएपछि विचल्ली नै भयो । हामीले जसोतसो गरेर भाइबहिनीहरुको पालनपोषण गर्यौं ।’

तर चारै जनाको पालनपोषण गर्न नसकेपछि मुकेशको परिवारले जेठी छोरीको बिहे गरिदियो । ६ कक्षा पढ्दै गरेका छोरा कमल बीचमै पढाइ छोडेर भारततिर लागे । अहिले उनैले कान्छो भाइ र बहिनीको पालनपोषण र पढाइ खर्च जुटाइरहेका छन् । ‘भाइलाई पनि पढाइलेखाइ गरेर ठूलो मान्छे बन्ने रहर थियो,’ उनका दाजु मुकेशले भने, ‘तर भाग्यमा दुःख लेखेर आएकाले होला बीचमै पढाइ छोड्नुपर्यो । अहिले भारतमा भारी बोक्ने काम गर्छ ।”

दाजु मुकेश भन्छन्, ‘बुवालाई महाकालीको भेलले बगायो । आमा अर्कैसँग बिहे गरेर गइन् तर विचल्लीमा परेका भाइबहिनीको दुःखमा न सरकार देखियो न त अरु नै ।’

०००

महाकालीमा नदी तर्ने क्रममा तुइनबाट खसेर दार्चुलाको व्याँस गाउँपालिकाका बासिन्दा बर्सेनी बेपत्ता हुन्छन् । अभिभावकको मृत्युपछि छोराछोरीको विचल्ली हुने क्रम बढ्दो छ । तर सरकारले नदीमा पुल निर्माण गर्न गम्भीरता देखाएको छैन

व्याँस गाउँपालिका-२ कै जयासिंह बुढाथोकी पनि तुइनबाट खसेर २०६९ सालमा महाकाली नदीमा बेपत्ता भए । आफन्तको बिहेबाट फर्किने क्रममा माघ महिनातिर उनी नदी तर्ने क्रममा तुइनबाट खसेका थिए । खोजी गर्दा पनि शव नभेटाएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको थियो । जयसिंहका दुई छोरी र दुई छोरा थिए । बुवा महाकालीमा बेपत्ता भएको दुई वर्ष नबित्दै आमाले अर्को बिहे गरिन् । १२ र ९ वर्षकी छोरीहरु तथा ७ र ५ वर्षका छोरा बेसहारा भए । आमा-बुवा दुवै नभएपछि उनीहरुको विचल्ली भयो । उनीहरुलाई काकाले पालनपोषण गर्दै आएका छन् ।

छोराछोरीलाई आफन्तले आश्रय त दिए तर आमाबुवाको माया पाउनबाट उनीहरु बञ्चित भए । ‘अहिले छोराछोरीहरु हामीसँगै छन् । जेठो छोरीको विवाह गरेर पठायौं । छोरा सदरमुकामतिरै ज्याला मजदुरी गरेर पढाइ गर्दैछ,’ महाकालीमा बेपत्ता भएका जयासिंहका भाइ करनसिंह बुढाथोकी भन्छन्, ‘हामी पनि खेतीपाती नै गरेर खाने हुनाले पालनपोषण गर्न गाह्रो छ तैपनि मिठोमसिनो बाँडीचुडी छोराछोरी पालिरहेका छौं ।’

२८ वर्षमा व्याँस गाउँपालिका-२ का २६ जना महाकालीमा बगे

माथि उल्लेख गरिएका पात्र प्रतिनिधिमुलक मात्रै हुन् । उनीहरु जस्तै महाकालीमा बगेका र विचल्लीमा परेका परिवारको संख्या ठूलो छ । तर व्याँस गाउँपालिकाको वडा नम्बर २ बाहेक अन्य सरकारी निकायसँग एकिन तथ्यांक छैन । व्याँस गाउँपालिका वडा नम्बर २ ले २०५० सालदेखि हालसम्म महाकाली नदीमा २६ जनालाई गुमाइसकेको छ । व्याँस गाउँपालिका-२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुढाथोकीले २०५० सालदेखि अहिलेसम्म महाकाली नदीमा तुइन तर्ने क्रममा मात्रै खसेर २० जनाको मृत्यु भइसकेको जानकारी दिए । यस्तै नदी तर्ने क्रममा चिप्लेर ४ जना र ढुङ्गा लागेर २ जनाको मृत्यु भएको छ ।

‘अहिलेसम्म महाकाली नदीमा व्याँस गाउँपालिकाका के-कति मानिस बेपत्ता भएका छन्, त्यो तथ्यांक अरु कुनै पनि सरकारी निकायले राखेको पाइँदैन,’ वडाध्यक्ष बुढाथोकीले अनलाइनखबरसँग भने, ‘तर मेरो वडामा मात्र २०५० सालदेखि अहिलेसम्म तुइन तर्ने क्रममा खसेर, चिप्लिएर र ढुङ्गा लागेर २६ जनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा अधिकांश युवा छन् ।’

उनले अभिभावकको मृत्युपछि छोराछोरीको विचल्ली हुने क्रम बढ्दो भए पनि राज्यले नदीमा पुल निर्माण गर्न बेवास्ता गर्दै आएको बताए । ‘व्याँसको वडा नम्बर २, ३ र ४ का बासिन्दाले सदरमुकाम आउन-जान तुइनको प्रयोग गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘५ र ६ नम्बर वडामा झोलुङ्गे पुल बनेकाले सहज भएको छ । तर अन्य वडाका बासिन्दाका लागि कहिले पुल बन्ने हो ठेगान छैन ।’