December 3, 2022, Saturday
२०७९ मंसिर १७

काँग्रेस र एमालेले बोलाए संसदीय दलको बैठक

बुधबार बस्ने संसद बैठकलाई मध्यनजर गर्दै सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आ–आफ्नो संसदीय दलको बैठक बोलाएका छन् ।

नेपाली काँग्रेसले संसदीय दलको बैठक आज २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएको सांसद डिला संग्रौलाले जानकारी दिइन् । उनले दलको बैठकमार्फत संसदमा पार्टीका सांसदहरुले खेल्ने भूमिकाका बारेमा छलफल हुने बताइन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बुधबार बिहान दलको बैठक बसेर संसदमा पार्टीका तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल हुने बताए ।

‘बुधबार बिहान बैठक बोलाइएको छ । त्यहीँ बैठकमा छलफल गरेर कसरी अघि बढ्ने भन्ने तय गरिन्छ’, भट्टराईले रातोपाटीसँग भने । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि संसद बैठक अघि दलको बैठक बोलाउने तयारी गरेको नेता देव गुरुङले जानकारी दिए ।

‘समय निर्धारण भैसकेको छैन, तर संसद बैठक अघि दलको बैठक बस्छ’, गुरुङको भनाइ छ ।

संघीय संसदका दुवै सदनको बैठक बुधबार अपरान्ह चार बजेका लागि बोलाइएको छ । सत्तापक्ष र प्रतिपक्ष बीचको सम्बन्धमा चिसोपना आइरहेका बेला बस्न लागेको बैठकमा सरकारले बजेट परिमार्जन गर्ने अध्यादेश लैजाँदैछ । संसद बैठकमा प्रमुख प्रतिपक्ष एमाले कडा ढंगले प्रस्तुत हुने तयारी गरेकाले सत्तापक्ष त्यसका कसरी सामना गर्ने भन्ने रणनीतिमा लागेको छ ।

प्रमुख प्रतिपक्ष एमालेले बजेट अध्यादेश, महाकाली तुइन प्रकरण, सभामुखको भुमिका, हिल्सा सीमा प्रकरण लगायतका विषयमा शसक्त आवाज उठाउने तयारी गरेको छ ।