December 6, 2022, Tuesday
२०७९ मंसिर २०

गण्डकीमा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १६८ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ९ महिला र १३ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १७,स्याङ्जा ३ र नवलपरासी पूर्वमा १ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८७ हजार ८८८ पुगेको छ ।

गण्डकीमा थप १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका–१ का ४३ वर्षीय पुरुष रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा करोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४१६ पुगेको छ ।

प्रदेशमा पछिल्लो चौबिस घण्टामा २८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ३१४ पुगेको छ भने होम आइसोलेसनमा १११ जना रहेका छन् । त्यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।