December 3, 2022, Saturday
२०७९ मंसिर १७

प्रदेश २ का स्थानीय तहमा दलबदल शुरु : जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नवगठित लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लागेका स्थानीय तहका जनप्रतिनिधिले मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्न थालेका छन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिहरु नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लाग्ने क्रम मंगलबारदेखि शुरु भएको छ ।

प्रदेश नम्बर २ मा मंगलबारदेखि नयाँ पार्टीमा प्रवेश गर्ने जनप्रतिनिधिहरुको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन् ।  दल बदलका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट चुनाव जिते पनि अहिले मूल पार्टी जसपामै रहेका छन् भने उपमेयर रीता कुमारी मिश्र भने लोसपातर्फ लागेकी छन् ।

त्यस्तै, जलेश्वरका मेयर रामशंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले भने नयाँ दल लोसपा रोजेका छन् । उनीहरुले निर्वाचन कार्यालय महोत्तरीमा गई लोसपामा सनाखत गरेका हुन् । अन्य जिल्लामा भने को कतिजनाले सनाखत गरे, सोको यकिन हुन अझै समय लाग्ने निर्वाचन कार्यालय बाराले जनाएको छ । पर्सा र रौतहटमा पनि बुधबारदेखि सनाखत हुने निर्वाचन कार्यालयले जनाएको छ ।

मंगलबार धनुषामा जसपाका ११२ जना जनप्रतिनिधि मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । त्यस्तै महोत्तरीमा जसपाका २१५ जनप्रतिनिधिमध्ये १०२ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

एमाले छाडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार र लोसपाका प्रदेश सांसदहरुले बिहीबार सनाखत गर्ने झाले रातोपाटीलाई जनाइन् । शुक्रबारदेखि एकीकृत समाजवादी र लोसपाबाट छुटेका स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गर्ने कार्यक्रम रहेको प्रमुख झाले बताइन् ।

निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ ।

धनुषाका १८ स्थानीय तहमध्ये मेयर÷उपमेयर १२/१२, अध्यक्ष÷उपाध्यक्ष ६÷६, वडाध्यक्ष १ सय ६९ र सदस्य ६४३ गरी जम्मा ८४८ जना जनप्रतिनिधिहरु छन् । तीमध्ये तात्कालीन राजपा नेपालबाट मेयर÷उपमेयर २÷२ जना, वडाध्यक्ष २१ र सदस्य ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेका थिए ।

त्यस्तै समाजवादी पार्टीका मेयर÷अध्यक्ष÷उपाध्यक्ष १ /१ जना, वडाअध्यक्ष २३ जना र वडा सदस्यहरु १०८ गरी कुल १३४ जना जनप्रतिनिधिहरु धनुषामा छन् । एकीकरण हुदाँ जसपा नेपालमा कुल २४६ जना जनप्रतिनिधिहरु थिए ।