November 27, 2022, Sunday
२०७९ मंसिर ११

सर्वोच्चदेखि बालुवाटारसम्म न्याय मार्च

९ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै पेशाकर्मीहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म पैदल हिँडेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालय, रामशाहपथबाट सुरु भएको बालुवाटार न्याय मार्च भद्रकाली, शहीदगेट, सुन्धारा, हुदै बालुवाटार पुगेको थियो

विरोध र्‍यालीमा नेपाल बार एशोसिएसनका साथै बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल इन्जिनियर्स एशोसिएसनलगायतका पेशाकर्मी संघसंगठनहरु सहभागी थिए । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) को सहभागितामा भएको विरोध र्‍यालीमा नागरिक समाजले पनि ऐक्यवद्धता जनाएको थियो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरु न्याय खोज्न सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आइपुगेको बताए । उनले अन्याय र विचौलियाको पोषकको रुपमा प्रधानन्यायाधीश जबरा सर्वोच्चमा बसिरहेको भन्दै आफूहरुले उनलाई नमान्ने बताए । ‘हामीले उनलाई प्रधानन्यायाधीश मान्दैनौं । हामी अर्को प्रधानन्यायाधीशको खोजीमा छौं’ उनले भने।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा संलग्न इजलासका आदेश र फैसलाहरु संकलन गरेर अध्ययन गर्ने काम भइरहेको पनि बताए । उनले आफूहरुले न्यायपालिकाको शुद्धिकरणका लागि यो आन्दोल गरेको पनि बताए ।