December 3, 2022, Saturday
२०७९ मंसिर १७

पाको दम्पतीको उमंगमय कथा : जहाँ तकिया, त्यही घर

यो कथा अमेरिकाको हो । दम्पती हुन्, डेबी र माइकल कैम्पबेल । उनीहरु आफ्ना अवकासपूर्ण जिन्दगी खुब उमंगका साथ बिताइरहेका छन् ।

उनीहरु जब बुढा भए र रोजगार, कमाई, परिवार सबैबाट उम्किए, तब दुबैले रमाइलोपूर्वक दिनहरु विताउने योजना बनाए । उनीहरुले आफुसँग जे–जति धन–दौतल थिए, ति सबै बिक्री गरे । त्यसपछि घर छाडेर निस्किए, संसार घुम्न ।

उनीहरु पछिल्लो पाँच बर्षदेखि अविछिन्न यात्रामा छन् । उन्मुक्त यात्रामा छन् । यस क्रममा यी दम्पतीले ८० वटा देश घुमिसके ।

सन् २०१३ मा उनीहरुले घर छाडेका थिए । त्यसबेला डेबीको उमेर ६२ बर्षको थियो । माइकलको उमेर ७२ बर्षको थियो । त्यसयता उनीहरु निरन्तर यात्रामा छन् । थाकेका छैनन् ।

उनीहरु घुम्दैनन् मात्र घुमेको अनुभव आफ्ना ब्लगमा शेयर पनि गर्छन् । यी दम्पतीले ‘सीनियर नोमाड्स’ अर्थात बुढो घुमक्कड नाममा ब्लग लेख्छन् । त्यसमा उनीहरुको यात्रा विवरण, अनुभव र अनुभूतिहरु समेटिएका हुन्छन् ।

डेबी भन्छिन्, ‘हामी जान्नका लागि उत्सुक थियौं । विश्वमा हेर्नका लागि धेरै कुरा थियो र हामी त्यो अवसरबाट आफुलाई बञ्चित गर्ने पक्षमा थिएनौं ।’

डेबी र माइकल दुबै जागिर खान्थे । एएटलमा उनीहरुको एक घर थियो । माइकल त्यसबेलाको स्मरण गर्दै भन्छन्, ‘हामी जागिर छाड्दै थियौं र घरलाई भाडामा लगाउँदै थियौ? सिएटलमा हाम्रो कुनै खर्च थिएन ।’

कुनैपनि यात्रा बिना पैसा संभव हुँदैन । खर्च जुटाउनका लागि सबैभन्दा पहिले उनीहरुले आफ्नो बचतको पैसा निकाले । त्यसपछि सिएटलको घर बिक्री गरे । नौका वा बोट र कार बेचे । उनीहरुसँग जे जति थियो, त्यो सबै बेचिदिए ।

सबैकुरा बेचिसकेपछि उनीहरुसँग केवल एक म्याप थियो, जसमा विश्वको मार्गचित्र देखिन्थ्यो । त्यही म्याप फैलाएर उनीहरुले यात्रा सुरु गरे ।

यात्राको सुरुवाती ६ महिना उनीहरु लगातार घुमिरहे । फेरी क्रिसमसको बिदाका लागि उनीहरु सिएटल फर्किए । नयाँ बर्ष सुरु हुनुअघि नै उनीहरु यात्रामा मोडिए ।

उनीहरु होटलको बदला भाडाको घरमा बस्छन् । कतै बस्नुपर्दा उनीहरु एक रातको औसत ९० डलर खर्च गर्छन् । भाडाको जुन घरमा उनीहरु रात कटाउँछन्, त्यसलाई उनीहरु ‘होम अन द रोड’ भन्छन् ।

यात्राको तस्विर हेर्दै डेबी भन्छिन्, ‘पाँच बर्षदेखि यो एडभेन्चर चलिरहेको छ ।’

यात्रामा निस्कनुअघि उनीहरुले पुरा बजेट तयार गरे । के कुरामा कति खर्च चाहिन्छ भन्ने अनुमानित विवरण तयार गरे । उनीहरुले के पनि तय गरे भने, बाँकी जीवनभर यात्रा गर्ने हो भने अर्काको घरमा भाडामा बसेरै यात्रा गर्नुपर्नेछ ।

‘हामीले घर बेच्यौ । यो एक ठूलो फैसला थियो । घरको सम्बन्धमा हाम्रो विचार यस्तो कि, जहाँ हाम्रो तकिया हुन्छ, त्यही हाम्रो घर हो ।’

आफुहरुले यतिका लामो दाम्पत्य जीवन खुसीपूर्वक विताएको र दुबैबीच जिन्दगीका सम्बन्धमा कुनै भ्रम एवं मतभेद नरहेकाले पनि यस किसिमको यात्रा संभव भएको उनीहरुको निष्कर्ष छ ।

कतपियले उनीहरुलाई इमेल पठाउँछन् । इमेलमा यात्रा गर्न इच्छुकहरुले केही आइडिया मागेका हुन्छन् । उनीहरुलाई प्रेरित गर्दै ति दम्पतीले जवाफ फर्काउँछन् ।

जीवनलाई कसरी काट्ने भन्दा पनि कसरी बिताउने भन्ने कुरा महत्वपूर्ण हो । जीवन आखिर यसै पनि बित्छ । तर, त्यो क्षणमा कसरी रमाउने भन्ने कुरा आफ्नो निर्णयमा भर पर्छ । उमेर ढल्कनु, बुढो हुनु कुनै दोष होइन । तर, बुढ्यौलीलाई पट्यारलाग्दो बनाउनु हाम्रो गल्ती हो । किनभने बुढ्यौली आफैमा पट्यारलाग्दो हुँदैन, यदि त्यसमा हामी उन्मुक्त, उमंगमय खुसीहरु खोज्छौ भने ।